आज आउँदै मौद्रिक नीति, कर्जा विस्तार र तरलता व्यवस्थापनमा जोड
२३ असार, काठमाडौं।
नेपाल राष्ट्र बैंकले आजै आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ।
आर्थिक अनुसन्धान विभागले तयार पारेको मस्यौदामाथि व्यवस्थापन तहमा छलफल भइरहेको छ भने त्यसको स्वीकृतिपछि सञ्चालक समितिबाट अन्तिम निर्णय गरी आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।
यस वर्षको मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन ‘लचिलो कार्यदिशा’ लाई निरन्तरता दिने भएको छ। सरकारले बजेटमार्फत राखेको ७ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने लक्ष्यलाई सघाउने गरी नीति तयार पारिएको छ।
अन्तर्राष्ट्रिय बजारको अनिश्चितताका कारण मूल्यवृद्धिमा सामान्य प्रभाव पर्न सक्ने आकलन गरिए पनि बैंकहरूमा पर्याप्त तरलता (लगानीयोग्य रकम) भएकाले तत्काल ठूलो जोखिम नरहेको राष्ट्र बैंकको निष्कर्ष छ।
त्यसैले यसपटक पनि अर्थतन्त्रमा कर्जा प्रवाह बढाउने (क्रेडिट पुश) रणनीतिलाई प्राथमिकता दिइनेछ, यद्यपि बैंक सम्बन्धी नियामकीय प्रावधानहरूमा भने खासै परिवर्तन नगरिने बुझिएको छ।


