सिद्धार्थ बैंकद्वारा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गका लागि ‘एन-ट्याग’ सेवा सञ्चालनमा
१० मंसिर, काठमाडौं।
सिद्धार्थ बैंक लिमिटेडले सडक बोर्ड नेपाल (आरबीएन) सँगको सहकार्यमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा गुड्ने निजी तथा व्यावसायिक चारपाङ्ग्रे सवारी साधनका लागि ‘एन-ट्याग’ (N-Tag) सेवा सञ्चालनमा ल्याएको छ।
सवारी साधनको अगाडिको सिसामा टाँसिने यस विद्युतीय (आरएफआईडी) स्टिकरको मद्दतले टोल बुथमा नरोकीकन तोकिएको एन-ट्याग लेनबाट सिधै गुड्दा स्वचालित रूपमा टोल शुल्क भुक्तानी हुनेछ । यसले टोल बुथमा लामो समय कुर्नुपर्ने झन्झट हटाएर समय र इन्धनको बचत गर्नुका साथै यात्रालाई पूर्ण रूपमा नगदरहित र छरितो बनाउने बैंकले जनाएको छ ।
दर्ता तथा सक्रिय गर्ने प्रक्रिया ग्राहकहरूले अनलाइन आवेदन भरेर नजिकैको सिद्धार्थ बैंकको शाखाबाट एन-ट्याग संकलन तथा सक्रिय गर्न सक्नेछन् । जसका लागि निम्न प्रक्रिया अपनाउनुपर्नेछ:
-
अनलाइन खाता दर्ता: सर्वप्रथम सडक बोर्ड नेपालको पोर्टल मा गई ‘Sign Up’ बाट व्यक्तिगत (Individual) वा संस्थागत (Organization) छनोट गरी मोबाइल नम्बर र इमेलमार्फत भेरिफिकेसन कोड प्रविष्ट गरी पासवर्ड सेट गर्नुपर्छ ।
-
कागजात अपलोड: व्यक्तिगत दर्ताका लागि पूरा नाम, ठेगाना, सम्पर्क विवरण र आधिकारिक परिचयपत्र (नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी) को स्पष्ट प्रतिलिपि अपलोड गर्नुपर्छ । त्यस्तै, संस्थागत दर्ताका लागि संस्थाको नाम, ठेगाना, सम्पर्क नम्बर, आधिकारिक प्रतिनिधिको विवरणसहित संस्था दर्ता तथा प्यान/भ्याट (PAN/VAT) प्रमाणपत्र अपलोड गर्नुपर्छ ।
-
सवारी विवरण पेश: पोर्टलमा लगइन गरी ‘Vehicle Registration’ मा गएर ब्लुबुक अनुसारको सवारी विवरण र ब्लुबुकको प्रतिलिपि अपलोड गरी पेश गरेपछि आवेदन दर्ता नम्बर (Submission No.) सहितको पीडीएफ (PDF) फाइल डाउनलोड गर्नुपर्छ ।
-
शाखाबाट स्टिकर संकलन: डाउनलोड गरिएको कागजातसहित व्यक्तिगत दर्ताका लागि सक्कल नागरिकता वा परिचयपत्र, ब्लुबुक र पासपोर्ट साइजको फोटो तथा संस्थागत दर्ताका लागि संस्था दर्ता, प्यान/भ्याट प्रमाणपत्र, ब्लुबुक र आधिकारिक प्रतिनिधिको परिचयपत्र लिएर नजिकैको सिद्धार्थ बैंकको शाखामा जानुपर्छ ।
-
सक्रियता (Activation): बैंकले कागजात रुजु गरी सवारी नम्बरमा एन-ट्याग आबद्ध गरेर भौतिक स्टिकर प्रदान गरेपछि पुनः पोर्टलमा लगइन गरी ‘Activate Tag’ बाट ट्याग सक्रिय गर्नुपर्छ र उक्त स्टिकर सवारी साधनको अगाडिको सिसामा टाँस्नुपर्छ ।
रिचार्ज तथा अन्य सुविधा ग्राहकहरूले सिद्धार्थ बैंकको मोबाइल बैंकिङ एप ‘बैंकस्मार्ट एक्सपी’ (BankSmartXP) बाट घरमै बसी सहजै एन-ट्याग रिचार्ज गर्न तथा सडक बोर्ड नेपालको मोबाइल एप र पोर्टलबाट आफ्नो मौज्दात (Balance) र कारोबार विवरण हेर्न सक्नेछन् ।
एउटा एन-ट्याग एउटा निश्चित सवारी साधनका लागि मात्र प्रयोग गर्न मिल्नेछ भने टोल लेन प्रयोग गर्नुअघि ट्यागमा पर्याप्त ब्यालेन्स राख्नुपर्ने बैंकले स्पष्ट पारेको छ । यस सेवाको प्रयोगले डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन हुनुका साथै निकट भविष्यमा सञ्चालनमा आउने देशभरका विद्युतीय टोल (ईटीसी) युक्त राजमार्गहरूमा सर्वसाधारणको यात्रा थप व्यवस्थित, छरितो र सुरक्षित बन्ने विश्वास बैंकले लिएको छ ।
थप जानकारी वा सहयोगका लागि नजिकैको सिद्धार्थ बैंकको शाखा कार्यालय, बैंकको २४सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र (०१–५९७००२०) वा इमेल ([email protected]) मार्फत सम्पर्क गर्न सकिनेछ ।
For More: Siddhartha Bank N-Tag Service



