ऊर्जामन्त्री श्रेष्ठद्वारा रुपाताल संरक्षण आयोजनाको अनुगमन, समयमै काम सम्पन्न गर्न निर्देशन
११ मंसिर, पोखरा।
संघीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले कास्कीस्थित ‘रुपाताल संरक्षण एकीकृत विकास परियोजना’ को स्थलगत अनुगमन गरेका छन्।
शुक्रबार (मंसिर ११ गते) जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक (डिजी) दिनेश रजौरियासहितको टोली लिएर परियोजनाको निर्माण कार्यको अवलोकन गर्दै मन्त्री श्रेष्ठले उक्त योजना पोखराकै गौरवको आयोजना भएकाले निर्धारित समयमै गुणस्तरीय ढंगले सम्पन्न गर्न निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्ण प्रसाद डुम्राकोटीले आयोजनाको वर्तमान प्रगति, निर्माण प्रक्रिया र लक्ष्यबारे मन्त्री श्रेष्ठलाई विस्तृत जानकारी गराएका थिए ।
कुल लागत रु. ५ अर्ब ११ करोड (प्रारम्भिक अनुमानित लागत रु. ४ अर्ब ५२ करोड) रहेको यस आयोजनाको हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको स्वीकृत गुरुयोजना अनुसार यो आयोजना आगामी आर्थिक वर्ष २०८५/८६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए।
हालसम्मको कार्यप्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरूलाई उच्च मनोबलका साथ कामकाज अघि बढाउन प्रेरित गरे । रुपाताल संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई जोड्ने यस आयोजनाको महत्वपूर्ण पाटो ‘इको फुट ट्रेल’ निर्माण रहेको बताउँदै उनले रुख कटानसम्बन्धी देखिएको समस्या समाधान गरी निर्माण कार्य तत्काल अघि बढाउन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री श्रेष्ठले रुपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको बताए । “रुपाताल संरक्षणको यो मोडललाई फेवा, बेगनास, खास्टे, दीपाङ, मैदी, गुन्डे र न्युरेनीलगायत कास्कीका अन्य तालहरूको एकीकृत संरक्षण तथा विकासमा समेत विस्तार गर्न सकिन्छ,” उनले भने, “हाम्रा तालहरू केवल प्राकृतिक सम्पदा मात्र होइनन्, यी वातावरणीय सन्तुलन, पर्यटन, स्थानीय अर्थतन्त्र र भावी पुस्ताको भविष्यसँग जोडिएका अमूल्य स्रोत हुन् । त्यसैले संरक्षण, विकास र दिगो उपयोगलाई सँगसँगै अघि बढाउनु आजको आवश्यकता हो ।”
सोही भ्रमणका क्रममा मन्त्री श्रेष्ठ र महानिर्देशक रजौरियाको टोलीले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, कास्की कार्यालयको समेत अनुगमन गरेको छ । टोलीले उक्त कार्यालय अन्तर्गत सञ्चालित मर्स्याङ्दी, दरौँदी, मादी, सेती र चुँदी नदी नियन्त्रण तथा बाढी नियन्त्रणका आयोजनाका साथै लमजुङ, गोरखा, मनाङ, स्याङ्जा, कास्की र तनहुँ जिल्लाका सतह सिँचाइ आयोजनाहरूको अवस्थाबारे जानकारी लिएको थियो ।
मन्त्री श्रेष्ठको म्याग्दी, बागलुङ र स्याङ्जा जिल्लाका विभिन्न आयोजनाहरूको समेत स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
For More: Rupatal Conservation Project Inspection




