दिगो बैंकिङका लागि कुमारी बैंक र जर्मन संस्था DSIK बीच साझेदारी
२४ असार, काठमाडौं।
सेवा, प्रक्रिया अनि रणनीतिक साझेदारी मार्फत दिगो विकासमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मन वित्तीय संस्था डच स्पार्कशेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसन (Deutsche Sparkassenstiftung für internationale Kooperation – DSIK) सँग रणनीतिक परियोजना सम्झौता गरेको छ।
जर्मनीको संघीय तथा विकास मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रम ‘एशियाका चयन गरिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक पारिस्थितिकीय रूपान्तरण अभियान’ अन्तर्गत यो साझेदारी गरिएको हो।
उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र जर्मन वित्तीय संस्था डच स्पार्कशेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनकी एशिया डिभिजन प्रमुख डा. इलोन्का रूल स्टेर्नले हस्ताक्षर गरेका हुन्।
दिगो बैंकिङका लागि दुई चरणको खाकामा हरित बैंकिङ अभ्यासहरूलाई संस्थागत र विस्तार गर्न यो साझेदारीलाई दुई क्रमिक चरणहरूमा विभाजन गरिएको छ।
यो सम्झौता कुमारी बैंकका लागि दिगो बैंकिङ अभ्यासको परिपक्वतातर्फको एउटा निर्णायक कदम भएको कुमारी बैंक लिमिटेडका दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले भने।
साझेदारी संस्थाको प्राविधिक सहयोग र नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मार्गदर्शनमा बैंकले आफ्ना बैंकिङ परिपाटीहरूलाई क्रमिक रूपमा अन्तर्राष्ट्रिय अनुभव तथा अभ्यासहरूका समेतका आधारमा परिष्कृत तथा परिमार्जन गर्दै हरित वित्त, न्यून कार्बन उत्सर्जन अनि दिगो तथा उत्थानशील उद्यमशीलता प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा राखेको छ।
सम्झौता अनुसार, डच स्पार्कशेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसनले आफ्नो स्वामित्वमा रहेका विशेष प्राविधिक पद्धतिहरू जस्तै ESG रिस्क राडर र सस्टेनेबल फाइनान्स कम्पास आदि उपलब्ध गराई प्राविधिक सहयोग पुर्याउनेछ। यसका साथै, ग्रामीण क्षेत्र र साना तथा मझौला उद्योगहरूको सबलीकरण र हरित उद्यम क्षमता अभिवृद्धि गर्न DSIK Business games पनि सञ्चालन गरिनेछ।
नेपालको अग्रणी वित्तीय संस्थामध्येको एक कुमारी बैंकले आफ्नो सुदृढ नेटवर्कमार्फत यस रूपान्तरणकारी पहललाई देशव्यापी रूपमा लैजानेछ। हाल कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०३ एटीएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ एकाइ र १,१०० भन्दा बढी पीओएस टर्मिनल सहितको वृहत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ।
आफ्ना ग्राहक केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक र डच स्पार्कशेनस्टिफ्टुङ फर इन्टरनेसनल कोअपरेसन बीचको यो सहकार्यले नेपालको दिगो आर्थिक विकास र स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्त्वपूर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ।
For More: Kumari Bank DSIK Sustainable


