कानुनी रुपमै दर्ता भयो नेपाली उत्पादन ‘यात्री’ मोटरसाइकल

Yatri Registers P-1 as First Made-in-Nepal Vehicle
Share It On:

२ जेठ, काठमाडौं। 
नेपालको पहिलो विद्युतीय बाइक निर्माता कम्पनी यात्री डिजाइन स्टुडियो प्रा.लि. कानूनी रुपमा दर्ता भएको छ । सार्वजनिक भएको एक वर्षपछि सोमबार यात्री सरकारी निकायमा दर्ता भएको हो ।

गत वर्षको १५ मेमा यात्री मोटरसाइकलले पहिलो पी-१ बाइक ग्राहकलाई डेलिभर गरेको थियो । तर, दर्ता हुन नसक्दा यात्रीले उत्पादन गरेका मोटरसाइकलहरूले नम्बर प्लेट पाउन सकिरहेका थिएनन् ।

कम्पनीले समेत थप उत्पादन रोक्नुपर्ने अवस्था आएको थियो । अब भने दर्ता सुरू भएको छ । यात्रीको पी १ मोटरसाइकल नेपालमा उत्पादित पहिलो सवारीका रूपमा दर्ता भएको हो ।

यातायात व्यवस्था कार्यालय, गुर्जुधारामा पी–१को ‘बाग्मती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको यात्री मोटरसाइकलले सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो । यो सँगै आयातको कागजबिनै दर्ता हुने नेपालको पहिलो सवारी बनेको छ ।

लामो बहस र दबाबपछि यातायात व्यवस्था विभागले गत वैशाखमा विद्यमान यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संसोधन गरेपछि यात्री लगायत अन्य स्वदेशी सवारी निर्माता कम्पनीका लागि दर्ताको अवसर खुलेको हाे ।

नेपालमा सवारी दर्ता गर्दा भन्सार प्रज्ञापन पत्र (एलसी) र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था थियो । सो व्यवस्था संशोधनपछि यात्रीले दर्ता हुन पाएको हो ।

यात्री मोटरसाइकलले नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्ने लक्ष्यसँगै सन् २०१७ को डिसेम्बरमा कम्पनी दर्ता गरेको थियो ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *