टीभीएस र जगदम्बा मोटर्सद्वारा समुदायको सेवामा २५ वटा अपाचे मोटरसाइकल हस्तान्तरण
७ मंसिर, काठमाडौं।
टीभीएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नुवाकोट र रसुवाका विभिन्न सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूलाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।
स्थानीय समुदायलाई सेवा प्रदान गर्दै आएका संस्थाहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने र उनीहरूको आवागमन सहज बनाउने उद्देश्यले यो पहल गरिएको हो।
हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई ५ वटा र जिल्ला प्रहरी कार्यालय रसुवालाई ५ वटा, नुवाकोट केन्द्रीय कारागारलाई १ वटा, विदुर नगरपालिकालाई २ वटा, त्रिशूली अस्पताललाई १ वटा, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयलाई १ वटा, चण्डेश्वरी माध्यमिक विद्यालयलाई १ वटा, आमाछोदिङ्मो गाउँपालिकालाई १ वटा, हाकु स्वास्थ्य चौकीलाई १ वटा, हाकु माध्यमिक विद्यालयलाई १ वटा, गोसाइँकुण्ड आधारभूत विद्यालयलाई १ वटा, ग्रे माध्यमिक विद्यालयलाई १ वटा, उत्तरगया गाउँपालिकालाई १ वटा, दाङ्गदाङ्गे स्वास्थ्य चौकीलाई १ वटा, थुलोगाउँ स्वास्थ्य चौकीलाई १ वटा र लहरेपौवा स्वास्थ्य चौकीलाई १ वटा प्रदान गरिएको छ।
यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायको पुनःस्थापना तथा पुनरुत्थानमा योगदान पुर्याउने लक्ष्य राखेका छन्। स्थानीय संस्थाहरूलाई आवश्यक आवागमन सुविधामा सहयोग पुग्दा उनीहरूले समुदायलाई प्रदान गर्ने सेवा थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ। साथै, यसले व्यावसायिक गतिविधिभन्दा बाहिर रहेर पनि नेपालका समुदायको हित र विकासमा योगदान पुर्याउने टीभीएस र जगदम्बा मोटर्सको प्रतिबद्धतालाई दर्शाउँछ।
टीभीएस मोटर कम्पनीका प्रेसिडेन्ट – इन्टरनेसनल बिजनेस पेयमान कार्गरले भने, “नेपाल टीभीएस मोटर कम्पनीका लागि एक महत्त्वपूर्ण बजार हो। हामीले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक योगदान पुर्याउनु पनि उत्तिकै महत्त्वपूर्ण छ भन्ने हाम्रो विश्वास छ। विभिन्न संस्थाहरूलाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने आशा गरेका छौँ।”
शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा मोटर्स सन् २०१५ सेप्टेम्बरदेखि नेपालमा टीभीएस मोटर कम्पनीका दुई तथा तीन पाङ्ग्रे सवारीसाधनको एकमात्र आधिकारिक वितरकका रूपमा कार्यरत छ। यस सहकार्यमार्फत दुवै कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तारसँगै स्थानीय समुदायलाई सहयोग गर्ने कार्यलाई पनि निरन्तरता दिँदै आएका छन्।
For More: Apache Motorcycles Community Service



