पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कीर्तिपुर अस्पतालबीच सहकार्य सम्झौता
७ मंसिर, काठमाडौं।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) र कीर्तिपुर अस्पतालबिच स्वास्थ्य सेवा, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको तालिममा सहकार्य गर्ने समझदारी भएको छ। जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र प्रतिष्ठानबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो।
कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले सम्झौतामा हस्ताक्षर गरेका छन्। सम्झौतामा कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी र प्रतिष्ठानका डिन डा. आशिष श्रेष्ठ साक्षी बसेका थिए।
सम्झौताअनुसार दुवै अस्पतालले बिरामीको स्वास्थ्य अवस्था र आवश्यकताका आधारमा उपलब्ध विशेषज्ञ सेवा तथा उपचार क्षमताअनुसार एकअर्काको अस्पतालमा बिरामी प्रेषण (रिफर) गर्नेछन् । साथै, आवासीय चिकित्सक, मेडिकल विद्यार्थी, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई क्लिनिकल रोटेशन र तालिमको अवसर प्रदान गरिनेछ।
यसअन्तर्गत कीर्तिपुर अस्पतालमा जलन उपचार तथा प्लास्टिक सर्जरी र पाटन अस्पतालमा एनेस्थेसिया लगायतका विषयमा तालिम तथा व्यावहारिक अभ्यासको तालिम सञ्चालन गरिनेछ।
त्यसैगरी, दुवै संस्थाले संयुक्त रूपमा निरन्तर चिकित्सा शिक्षा (सीएमई), सेमिनार, कार्यशाला तथा अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्नेछन्।
For More: Patan Academy Kirtipur Hospital Collaboration



