नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण काठमाडौंमा सुरु, मोबाइलमा ‘TEST ALERT’ आउँदा नआत्तिन सरकारको आग्रह
७ मंसिर, काठमाडौं।
नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सम्बन्धमा।
“विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (Cell Broadcast System – CBS) को प्रारम्भिक प्राविधिक परीक्षण आज मिति २०८३ मङ्सिर ७ गते साँझ ५:३० बजे काठमाडौंका छनोट गरिएका क्षेत्रमा गरिँदैछ। सूचना तथा सञ्चार मन्त्रालय, गृह मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा हुने यस परीक्षणका क्रममा मोबाइलमा विशेष चेतावनी ध्वनिसहित “परीक्षण सन्देश / TEST ALERT” प्राप्त हुन सक्ने भएकाले नआत्तिन सर्वसाधारणमा अनुरोध गरिएको छ।”
विपद्को समयमा नागरिकलाई समयमै पूर्वसूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपाल सरकारले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (Cell Broadcast System – CBS) को प्रारम्भिक प्राविधिक परीक्षण गर्न लागेको व्यहोरा सम्पूर्ण सर्वसाधारणमा जानकारी गराइन्छ।
सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा नेपाल दूरसञ्चार प्राधिकरण तथा नेपाल टेलिकमको सहकार्यमा आज मिति २०८३ मङ्सिर ७ गते (२३ नोभेम्बर २०२६), साँझ ५:३० बजे काठमाडौंका छनोट गरिएका क्षेत्रमा उक्त प्रविधिको परीक्षण गरिनेछ।
परीक्षणका क्रममा सम्बन्धित क्षेत्रका मोबाइल फोनहरूमा नेपाली र अंग्रेजी भाषामा “परीक्षण सन्देश / TEST ALERT” शीर्षकसहितको सूचना प्राप्त हुन सक्नेछ। सन्देश प्राप्त हुँदा मोबाइल फोनमा विशेष चेतावनी ध्वनि वा कम्पन आउन सक्ने तथा एउटै सन्देश एकभन्दा बढी पटक प्राप्त हुन सक्नेछ।
यो वास्तविक विपद्को चेतावनी नभई प्रविधिको परीक्षण मात्र भएकाले सन्देश प्राप्त भएमा नआत्तिन र कुनै कदम नचाल्न सम्पूर्ण सर्वसाधारणलाई अनुरोध गरिन्छ।
सेल ब्रोडकास्ट प्रणाली मोबाइल सञ्जालमा आधारित प्रविधि हो, जसको माध्यमबाट निश्चित भौगोलिक क्षेत्रभित्र रहेका उपयुक्त मोबाइल फोनहरूमा एकैपटक आपत्कालीन सूचना प्रवाह गर्न सकिन्छ। यसका लागि इन्टरनेट डाटा आवश्यक पर्दैन र व्यक्तिगत मोबाइल नम्बरमा छुट्टाछुट्टै सन्देश पठाउनुपर्ने हुँदैन।
यस प्रविधिको प्रयोगबाट भविष्यमा बाढी, पहिरो, हिमनदी ताल विस्फोटन, भूकम्प तथा प्रतिकूल मौसमलगायतका विपद्का समयमा जोखिममा रहेका नागरिकलाई तत्काल सूचना तथा आवश्यक सुरक्षात्मक निर्देशन उपलब्ध गराउन सकिने अपेक्षा गरिएको छ।
यस प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा तथा अनुभवका आधारमा प्रणालीलाई थप प्रभावकारी बनाउँदै भविष्यमा देशव्यापी रूपमा विस्तार गर्ने लक्ष्य रहेको छ।
विपद् पूर्वसूचना प्रणालीको विकास तथा परीक्षणमा सहयोग पुर्याउन सम्पूर्ण सर्वसाधारण, सञ्चारमाध्यम तथा सम्बन्धित सरोकारवालाहरूमा मन्त्रालय हार्दिक अनुरोध गर्दछ।
For more: Nepal Government Cell Broadcast System Launches



