मुटु र मस्तिष्कको स्वास्थ्यका लागि फिजियोथेरापी महत्वपूर्ण छ -प्रतिक पोखरेल
२३ भदौ, काठमाडौं।
हरेक वर्ष सेप्टेम्बर ८ मा विश्व फिजियोथेरापी दिवस मनाउँदै आइएको छ । ‘मुटु तथा रक्तनलीसम्बन्धी रोग र पक्षघातको रोकथाम, व्यवस्थापन तथा पुनःस्थापनामा फिजियोथेरापी र शारीरिक गतिविधिको भूमिका’ भन्ने नाराका साथ यसवर्ष सेप्टेम्बर ८ अर्थात भदौ २३ गते विश्व फिजियोथेरापी दिवस मनाईँदै छ ।
विश्व फिजियोथेरापी दिवसको अवसरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत फिजियोथेरापिस्ट प्रतीक पोखरेलले मुटु रोग र पक्षघातको रोकथाम तथा उपचारमा फिजियोथेरापी र शारीरिक गतिविधिको महत्व ज्यादै रहेको बताएका छन् ।
आइसीयू, क्रिटिकल केयर र कार्डियो–रेस्पिरेटरी फिजियोथेरापीमा विशेषज्ञता हासिल गरेका पोखरेलले विश्वभर वर्षेनि करिब २ करोड मानिस मुटु रोग र पक्षघातका कारण मर्ने गरेको बताउँछन् । उनले यी रोगहरू लागिसकेपछि उपचार गर्नुभन्दा लाग्नै नदिनु उत्तम हुनेमा जोड दिएका छन् ।
उच्च रक्तचाप, मधुमेह, मोटोपना, धुम्रपान र शारीरिक निष्क्रियता जस्ता जोखिमलाई समयमै पहिचान गरी व्यवस्थापन गर्न सके यी रोगबाट बच्न सकिने उनले बताए । “फिजियोथेरापिस्टले व्यक्तिको शारीरिक क्षमताको परीक्षण गरी स्वास्थ्यमा थप सुधार ल्याउने किसिमका व्यायाम सुझाउने गर्दछन्,” उनले भने ।
व्यायाम भनेको शरीर चलाउने मात्र नभई मुटु र मस्तिष्कको स्वास्थ्यमा गरिने एक प्रकारको लगानी हो, हप्तामा ५ दिन, दैनिक ३० मिनेट शारीरिक गतिविधि गरेमा पक्षघातको जोखिमलाई २५ प्रतिशतसम्म कम गर्न सकिने उनको भनाई छ ।
पक्षघात भइसकेका बिरामीको सन्दर्भमा पनि फिजियोथेरापीको भूमिका महत्वपूर्ण हुने पोखरेल बताउँछन् । बिरामीको शारीरिक शक्ति र सन्तुलन बढाएर उनीहरूलाई पुनः समाजमा पुनस्र्थापना गर्न फिजियोथेरापिस्टले महत्वपूर्ण सहयोग गर्ने उनको भनाइ छ ।
फिजियोथेरापिष्ट पोखरेलले सबैलाई निष्क्रिय भएर नबस्न र कुनै न कुनै किसिमको व्यायाममा संलग्न हुन आह्वान गरेका छन् । “मुभमेन्ट (चाल) नै स्वास्थ्यको आधार भएकाले सबैलाई स्वास्थ्य रहन उनले आग्रह गरे ।
For More: Physiotherapy Heart Brain Health

