नेपाल प्रिमियर लिग (NPL) को तेस्रो संस्करणलाई ICC को औपचारिक मान्यता
३१ असोज, काठमाडौं।
आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने ‘नेपाल प्रिमियर लिग’ (NPL) को तेस्रो संस्करणलाई अन्तराष्ट्रिय क्रिकेट परिषद् (ICC) ले औपचारिक मान्यता प्रदान गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।
विज्ञप्तिमा आईसीसीबाट प्राप्त स्वीकृतिबारे उल्लेख गर्दै क्यानले भनेको छ, “आईसीसीबाट प्राप्त उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास नेपाल क्रिकेट संघले लिएको छ।”
प्रतियोगितालाई विश्वमञ्चमा स्थापित गराउने उद्देश्यका साथ क्यानले आईसीसीप्रति आभार प्रकट गर्दै थप भनेको छ, “यस महत्त्वपूर्ण मान्यताका लागि आईसीसीप्रति नेपाल क्रिकेट संघ हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ।”
आईसीसीको मान्यता पाएसँगै अक्टोबर २६ देखि सुरु हुने एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको समग्र श्रीवृद्धिमा नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।
आईसीसीकाे मान्यता पाएसँगै फ्रेन्चाइज टोलीहरूले अब निर्वाध रूपमा विदेशी खेलाडीहरू अनुबन्ध गर्न सक्नेछन् ।
For more: NPL Season 3 ICC Approval


