१६, साउन २०७८ काठमाडौं ।
एनसीएचएलका विभिन्न प्रणालीहरु मार्फत आ. व. २०७७ / ७८ मा फर्छ्यौट गरिएको नगद रहित भुक्तानी कारोबार नेपालको कुल ग्राह्यस्थ उत्पादन भन्दा तीन गुणाले बढी रहेको छ । एनसीएचएलले लगायत विभिन्न भुक्तानी प्रणालीका साथै बैंक वित्तिय संस्था NCHL-ECC, NCHL-IPS, connect-IPS, सदस्य भुक्तानी सेवा प्रदायक, नेपाल सरकार लगायत अन्य विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने च्यानलहरु संचालन गर्दै आएको छ ।
गत आ.व.मा एनसीएचएलले कुल ४ करोड ४७ लाख भन्दा बढी भुक्तानी कारोबार फर्छ्यौत गरेको छ, जुन अघिल्लो आ.व.को तुलनामा ११७% ले बढी रहेको छ ।
त्यसैगरी रकमको आधारमा ने.रु.१३ खर्ब, USD २०.९ करोड, EUR २४.९ करोड र GBP २७.२ करोड बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीहरु मार्फत फर्छ्यौत गरेको हो । उक्त आ.व.मा चेकको कारोबार २१% ले, NCHL-IPS मा ९४% ले र Connect-IPS मा ५६६% ले कारोबार बृद्धी भएको छ ।
यसरी तथ्याङ्क हेर्दा चेकबाट हुने कारोबारको बृद्धी स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरुको उपायोग भने उल्लेख्य रुपमा बृद्धी हुँदै गएको छ ।
नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विद्युतिय भुक्तानी बृद्धी गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयास तथा कोभिड–१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ ।
साथै आगामी वर्षमा एनसीएचएलद्वारा कार्यान्वयन गरिने नेशनल पेमेन्ट स्विच (NPS) मार्फत पनि यसरी बढ्दो डिजिटल भुक्तानीको प्रयोगलाई थप टेवा पुग्ने विश्वास गरिएको छ ।
नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुबाट प्रवद्र्धित यस नेपाल क्लियरिङ्ग हाउसले देशको डिजिटल भुक्तानी पूर्वाधार विकासका निम्ती राष्ट्रिय स्तरका भुक्तानी तथा फर्छ्यौतका प्रणालीहरु निर्माण तथा सञ्चालन गर्दै आएको छ ।
यसमा ५९ बैंक वित्तिय संस्था,२३ भुक्तानी सेवा प्रदायक, १२ रेमिट्यान्स कम्पनी, ७ इन्सुरेन्स कम्पनी, १२ सरकारी तथा अर्ध सरकारी निकाय र अन्य ७ विभिन्न संघ संस्थाहरु आबद्ध रहेका छन् ।