टेलिकमले ल्यायो ‘अल नेट भ्वाइस प्याक’ अफर

Nepal Telecom Central Office

१७ चैत २०७८, काठमाडौं ।

नेपाल टेलिकमले ‘अल नेट भ्वाइस प्याक’ नामक अफर ल्याएको छ । टेलिकमले जुनसुकै सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका अल नेट भ्वाइस प्याक उपलब्ध गराउने भएको छ ।

यसका साथै सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकहरुलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएका छन् ।

नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध गराइएको छ ।

यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट डे भ्वाइस प्याक र राती १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने अनलिमिटेड अल नेट नाइट प्याक जम्मा रु. २५ मा खरिद गर्न सकिन्छ । साथै, आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म रु. १२ मा ३० मिनेट र रु. १५ मा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने अल नेट डे भ्वाइस प्याक पनि उपलब्ध हुनेछ ।

कम्पनीले उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएका छन् । रु. ५९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ ।

अब रु. ५९९ मा कम्पनीको नेटवर्कमा असीमित कल गर्न र अन्य नेटवर्कमा २५० मिनेट कल गर्न वा प्रतिदिन १ जीबी डाटा चलाउन सकिने छ ।

साथै, रु. ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ । यो प्याकमा प्रतिदिन १ जीबी डाटा समेत चलाउन सकिन्छ ।

रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ । त्यसैगरी यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here