टेलिकमको फोरजी सेवा चलाउन यस्तो मोबाइल सेटको प्रयोग गर्दा सजिलो हुने

Share It On:

१७ पुस २०७६, काठमाडौं ।

नेपाल टेलिकमले हाल १८०० मेगाहर्ज (ब्यान्ड ३) र ८००मेगाहर्ज (ब्यान्ड २०) ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराइरहेको छ । ग्रामीण क्षेत्रका विकट स्थान देखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घर भित्र फोरजी सेवा मार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउनका लागि ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग हुन्छ ।

हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेटहरु १८०० मेगाहर्जमा चलाउन सकिने भए तापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएको पाइन्छ । मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही व्याण्ड चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्दछ । फोरजीको अधिकतम उपादेयताको लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ । उपयुक्त मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ ।

कम्पनीले हाल देशका विभिन्न शहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको छ । त्यसैले फोरजी डाटा सेवा मार्फत अधिकतम फाइदा लिनका लागि १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ ।

नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण (Specification) हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । त्यसैगरी मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ ।

यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ । कम्पनीले निकट भविष्यमा २३०० मेगाहर्ज (ब्यान्ड ४०) मा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको छ । यसको उपलब्धता सँगै ग्राहकले फोरजी सेवालाई अझै बढी सहजताका साथ अझ तीब्र गति र गुणस्तरमा सेवा प्राप्त गर्न सक्नु हुनेछ । हाल कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ । यस सेवाका प्रयोगकर्ता मुलुकभर गरी २८ लाख नाघेका छन्।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *