नेपालमा कम लगानीमै राम्रो आम्दानी गर्न सकिने व्यवसायहरु

Nepal Farkeypachi

८ साउन २०७९, काठमाडौं ।

दैनिक १ हजारभन्दा बढी युवा वैदेशिक रोजगारीमा जाने गर्छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार पछिल्लो ६ महिनामा मात्रै तीन लाख ३७ हजार १२८ जना नेपाली रोजगारीका लागि खाडी र मलेसिया पुगेका छन् । जानेमध्ये ६२ प्रतिशत त १८ देखि ३४ वर्ष उमेर समुहका छन् ।

उनीहरुमध्ये ९० प्रतिशतसँग हातमा कुनै सीप छैन ।

यसरी नेपाली युवाहरु अदक्ष कामदार बनेर विदेसिँदा एकातिर गुणात्मक विप्रेषण नभित्रिने समस्या छ भने अर्कोतर्फ उनीहरूको कमाइ परिवारको भरणपोषणमै सकिने अवस्था छ ।

यसरी रोजगारीका लागि विदेसिएका युवा उमेर सकिएपछि नेपाल फर्कने र बुढ्यौली झनै असुरक्षित हुने अवस्था छ ।

देश विकासमा पसिना बगाउनुपर्ने युवा विदेसिँदा उनीहरुमा राज्यले गरेको लगानीको कुनै प्रतिफल नपाउने अवस्था छ । यस्तै, त्यसबाट उत्पन्न सामाजिक विचलन र ती नागरिकको सामाजिक सुरक्षामा राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बाध्यता छ।

पछिल्लो श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा २.३ प्रतिशत बेरोजगारी र ३० प्रतिशत अर्धबेरोजगारी रहेको अनुमान गरिएको छ । युवा अर्धबेरोजगारी ३५.८ प्रतिशत छ ।

वार्षिक करिब ५ लाख जनशक्ति श्रम बजारमा आउने र सोको १० प्रतिशतले मात्र आन्तरिक रोजगारीका अवसर पाउने अवस्था देखिन्छ । यसले एकातिर देशको श्रम बजारको संकुचनलाई चित्रण गर्छ भने अर्कातिर नेपाली युवा वैदेशिक रोजगारीमा जान बाध्य छन् भन्ने तथ्य देखाउँछ ।

नेपालको अर्थतन्त्र वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्समा निर्भर छ । नेपाल धेरै रेमिट्यान्स भित्राउने विश्वको पाँचौँ देशमा पर्छ । नेपालको कुल ग्राहास्थ उत्पादन (जीडीपी)मा रेमिट्यान्सको योगदान २८.६ प्रतिशत छ । तर, रेमिट्यान्स आएपनि काम गर्न सक्ने जनशक्ति विदेशमा हुँदा नेपालमा भने कामदारसमेत नपाइने अवस्था छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को तथ्याङ्कअनुसार कोभिड महामारीका बेला ७ लाखभन्दा बढी नेपाली विदेशबाट फर्केका थिए ।

तीमध्ये ४६.४ प्रतिशत रोजगारीका लागि पुनः विदेश फर्किसकेका छन् । यस्तै, २० प्रतिशत कृषि क्षेत्रमा संलग्न छन् । नेपालमा एकातिर काम नपाएर विदेसिनेको लर्को छ भने अर्कातिर कृषि, उद्योग तथा निर्माण क्षेत्रमा श्रमशक्तिको अभाव देखिन्छ । देशमै बसेर केही गर्ने सोचले युवाहरु नेपाल नफर्कने होइनन् ।

तर, स्वदेशमा केही अवसर नदेखी फेरि विदेश फर्कन्छन् । उनीहरुलाई स्वदेशमै स्वरोजगार र उद्यमी बनाउने प्रभावकारी पहल कतैबाट भएको देखिँदैन ।

यसै परिप्रेक्ष्यमा देशमा नै केही इलम गर्न सोचेर नेपाल फर्किएका युवालाई लक्षित गरेर देखापढी सञ्चार प्रा.लिले ‘नेपाल फर्केपछि’ कार्यक्रम शुरु गरेको छ । हाल प्रसारण भइरहेको यस कार्यक्रममा विदेशबाट फर्केका कामदारलाई स्वदैशमै उद्यमको अवसरबारे जानकारी दिने गरिन्छ ।

कार्यक्रममा एकातिर विदेशबाट फर्केकाले सञ्चालन गरिरहेको व्यवसाय, तिनका अनुभव, सफलता र चुनौति समेटिन्छन् भने अर्कोतर्फ स्वदेशमै गर्न सकिने व्यवसाय, उद्यमको अवसरका बारेमा जानकारी दिने गरिन्छ ।

यतिसम्म कि त्यस्ता व्यवसाय र उद्यम गर्दा आवश्यक सूचना, लगानी, पाइने सरकारी अनुदान, बीमाको व्यवस्थाबारे पूरा जानकारी दिने गरिन्छ । यसैगरी ती व्यवसाय गर्दा हुने नाफाघाटाको हिसावकिताव तथ्य र तथ्याङ्कमार्फत प्रस्तुत गर्ने गरिएको छ ।

१३ भागमा प्रसारण गरिने ‘नेपाल फर्केपछि’को छैठौं भाग कार्यक्रम प्रसारण भइसकेका छन् । जसमा एकवर्षमै लगानी उठ्ने माछापालन, सामान्य किसिमको तालिम लिएर शुरु गर्न सकिने केरा खेती, उच्च माग रहेको र देशको धेरैजसो ठाउँमा सजिलै गर्न सकिने बाख्रापालनका विभिन्न आयाम समेटिएका छन् ।

त्यस्तै, बजारबाट आम्दानी लिन सकिने सम्भावना राम्रो रहेको कट फ्लावर, गोलभेडा खेती र सानो लगानीमा लाखौं आम्दानी गर्न सकिने ड्रागन फ्रूट खेतीबारे तयार पारिएको सामग्री प्रशारण भइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here