मुक्तिनाथ फाउण्डेशनको विधिवत शुभारम्भ

Muktinath Foundation

२२ मंसिर २०७८, काठमाडौं ।

सामाजिक तथा आर्थिक रुपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरुलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रुपान्तरण गर्ने उद्देश्यले यो संस्था स्थापना गरिएको हो । मुनाफा वितरण नगर्ने संस्थाको रुपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा मिति २०७८ असोज १ गते दर्ता भएको यो संस्थाले लक्षित वर्गका व्यक्ति तथा समुदायलाई सवलीकरण गर्न एक सशक्त सामाजिक संस्थाको रुपमा कार्य गर्ने विज्ञप्तिमा जनाइएको छ ।

मंगलबार सम्पन्न एक औपचारिक कार्यक्रममा फाउण्डेशनले विधिवत रुपमा कार्याराम्भको घोषणा गरेको हो । फाउण्डेशनका अध्यक्ष भरतराज ढकालले दीप प्रज्वलन तथा संस्थाको लोगो सार्वजनिक गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । सोही क्रममा उनले फाउण्डेशनको स्थापनाको पृष्ठभूमि, उद्देश्य र औचित्यका बारेमा आफ्नो धारणासहित स्वागत मन्तव्य राखेका थिए ।

अध्यक्ष ढकालले यस संस्थालाई गैरराजनीतिक, निःस्वार्थ र विशुद्ध सामाजिक संस्थाको रुपमा विकास गरी सबै लक्षित नागरिक र समुदायहरुको पहिलो रोजाईको संस्थाको रुपमा विकास गरिने पनि जानकारी गराए ।

सोही कार्यक्रममा संस्थाका सल्लाहकार भरतप्रसाद आचार्यले फाउण्डेशनको परिचय, सेवा प्रवाहको दायराहरु, शीघ्र सञ्चालन गर्ने कार्यक्रमहरु तथा भावी योजनाहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएको विज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल, संस्थापक भानुभक्त ढकाल, सल्लाहकार श्याम सुन्दर शर्मा, बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मी तथा गायिका सुनीता दुलालले फाउण्डेशनको प्रभावकारिता र सफलताको लागि शुभकामना मन्तव्य राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here