स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कानुनको दायरामा ल्याउने प्रतिबद्धता
१२ साउन, काठमाडौं।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालै चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भएका कुटपिट र दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा उक्त घटनाहरूमा संलग्न दोषीहरूलाई पत्ता लगाई कानुनको दायरामा ल्याउन सरकारका सम्बन्धित निकायहरूले आवश्यक कार्यहरू गरिरहेको उल्लेख गरिएको छ।
स्वास्थ्य सेवा अत्यन्त संवेदनशील, जीवनरक्षक र अत्यावश्यक सेवा भएको भन्दै मन्त्रालयले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारको संरक्षण गर्न तथा स्वास्थ्यकर्मीले सुरक्षित र सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न पाउनु सबैको साझा दायित्व भएको बताएको छ।
स्वास्थ्य सेवाको संवेदनशीलता, चिकित्सा पेशाको गरिमा र सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै नागरिकको उपचार सेवामा कुनै अवरोध नआउने वातावरण कायम गरी निर्बाध रूपमा स्वास्थ्य सेवा प्रवाह गर्न मन्त्रालयले सबै अस्पतालहरूलाई अपिल गरेको छ।
साथै, यस कार्यमा सहयोग, सहजीकरण तथा समन्वय गरिदिन सम्बन्धित सबै निकायलाई मन्त्रालयले अनुरोध गरेको छ।
For More: Ministry Urges Uninterrupted Health Services


