चिकित्सकमाथि आक्रमणको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
१२ साउन, काठमाडौं।
नेपाल चिकित्सक संघले आज (मंगलबार) चिकित्सकमाथि आक्रमणको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।
वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि जिल्ला प्रशासन कार्यालय पर्सामा चिकित्सकहरूप्रति गरिएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशैभरका सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू बन्दको घोषणा गरेको हो।
गत शनिबार (साउन ९ गते) नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामलगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि साङ्घातिक आक्रमण हुँदा डा. रामको टाउकोमा गम्भीर चोट लाग्नुका साथै अस्पतालमा तोडफोडसमेत भएको थियो।
उक्त घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको माग गर्दै पर्सा प्रशासन कार्यालयमा पुगेका चिकित्सकहरूमाथि वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी प्रमुखबाट बल प्रयोग, गालीगलौज र दुर्व्यवहार गरिएको संघको आरोप छ।
आफ्ना केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा नारायणी शाखाका अध्यक्षसमेत दुर्व्यवहारमा परेको भन्दै चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको सुनिश्चितता र दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
यस देशव्यापी सेवा बन्दका कारण बिरामीहरूलाई पर्न जाने असुविधाप्रति संघले क्षमा माग्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने विज्ञप्तिमा उल्लेख गरेको छ।
For More: Hospitals Closed Over Doctor Attacks

