जनकपुर, माघ २२ गते ।
प्रविधि क्षेत्रमा रहेको लैङ्गिक असमानतालाई हटाउन प्रदेश नं २ मा गर्ल्स इन टेक (प्रविधिमा किशोरी) परियोजनाको थालनी गरिएको छ । प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउत, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, र डीएफ आईडी नेपालकी प्रमुख लिजाहोनानले जनकपुरमा आयोजित एउटा विशेष समारोह बीच संयुक्त रूपमा उक्त परियोजनाको शुभारम्भ गर्नुभएको हो ।
प्रविधिको प्रयोग मार्फत लैङ्गिक असमानता हटाउन प्रदेश नं २ मा ‘गर्ल्स इन टेक’ शुरू, १० जना किशोरीहरुलाई क्लाउड कम्प्युटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स प्रशिक्षणका लागि छात्रवृत्तिको घोषणा
युके एडको रोजगारीका लागि सीप कार्यक्रम अन्तर्गत जेनेस क्लाउड एकेडेमी, फ्युजमेसिन्स नेपाल र गर्ल्स इन टेक–नेपालको संयुक्त सहकार्यमा सो परियोजनाको थालनी गरिएको हो । प्रविधि क्षेत्रमा रहेको लैङ्गिक भेदभाव अन्त्य गर्ने सन्दर्भमा प्रविधिमा लगाव राख्ने किशोरीलाई शिक्षित एवं सशक्तीकरण गर्नु यस परियोजनाको उद्देश्य रहेको छ ।
परियोजनाले स्नातक हुन लागेका विद्यार्थीलाई विश्वभर दिइने अनलाइन तालीम साधन तथा प्रमाणीकरण उपलब्ध गराउनुका साथै व्यक्तिगत रूपमा परामर्श र कम्पनीलाई चाहिएको सीपयुक्त श्रम शक्तिमा पहुँच हुने सुनिश्चितवा तावरण निर्माणमा सघाउ पुर्याउने छ ।
कार्यक्रमका अवसरमा बोल्दै मुख्यमन्त्री राउतले प्रविधिक युग अनुरुप प्रदेशमा जनशक्ति उत्पादन गरी प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने सरकारको नीति भएको र यो परियोजनाले सो अभियानलाई सार्थक तुल्याउन सहयोगी सिद्ध हुने धारणा राख्नुभयो ।
मुख्यमन्त्री राउतले छोरी प्रतिको विभेद हटाउन सरकारले बेटी पढाऊ, बेटी बचाऊ, साइकल वितरण र सरकारी जागिरमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरेको बताउनुभयो । उहाँले समाजमा छोरीलाई मानसिक रूपले कमजोर बनाउने, अवसरबाट वञ्चित गराउने लगायतका मानसिकता र गतिविधि विद्यमान रहेकाले यसको अन्त्य गर्न र परिवर्तनका लागि किशोरीलाई प्रविधिमूलक शिक्षा दिनु आवश्यक रहेको बताउनुभयो ।
त्यस्तै, मन्त्री यादवले वर्तमान प्रविधिको युग भएकाले किशोरीलाई प्रविधितर्फ ध्यानाकर्षण गराई दीक्षित गर्नु आवश्यक रहेको बताउनुभयो । किशोरीलाई प्रविधिमा पहुँच गराई शारीरिक, मानसिक, सामाजिक रूपले आत्मबल अभिवृद्धि गराउनु अहिलेको आवश्यकता भएको उहाँले बताउनुभयो ।
उक्त अवसरमा युके एड सीपका टिम लिडर बलजीत बोहराले आर्थिक तथा सामाजिक रूपमा कमजोर पृष्ठ भूमिका १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने घोषणा गर्नु भयो । साथै, उक्त कार्यक्रममा जनकपुरमा अवस्थित जानकि बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत तथा नेपालकै सबैभन्दा कान्छि सफ्टवेयर प्रोग्रामर मध्येकी एक ज्योती सिंहलाई पहिलो छात्रवृत्ति प्रदान गरियो भने अन्य नौ सीटका लागि आवेदन खुलागरिएको छ ।
‘गर्ल्स इन टेक’ संसारभर फैलिएको एक गैर नाफा मूलक संस्था हो । संस्थामा ३६ देशमा एक लाख भन्दा बढी सदस्य रहेका छन् । यसको नेपाल शाखा सन् २०१९ नोभेम्बर देखि शुरू भएको हो ।