१३ वैशाख, काठमाडौँ।
नेपालमै विकास भएको इ–लर्निङ एप ‘इ–विद्या’ ले आफ्नो व्यावसायिक सुरुवात गरेको छ । युवा उद्यमी हरि भट्टराई र उनको टिमले स्थापना गरेको इ-विद्या मोबाइल एप्लिकेसनले ७५ भन्दा बढी विषयमा २ हजारभन्दा बढी भिडिओहरू उपलब्ध गराउँदै आएको छ।
हरि भट्टराईले ‘सम्झना पब्लिकेसन’ नामबाट पुस्तक प्रकाशनकाे व्यवसाय सुरुवात गरेका थिए । जहाँ त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका साथै उच्च माध्यमिक शिक्षा अन्तर्गतका विभिन्न तहहरूको विषयका किताब छापिन्थ्याे ।
यसैबीच कम्पनीले गत वर्ष केही विद्यार्थीमाझ गरेको सर्वेक्षणका ७० देखि ८० प्रतिशत विद्यार्थीहरूलाई परीक्षा भन्दा अगाडि ट्युसन कक्षाहरू आवश्यकता पर्ने देखिएको थियो । त्यस्तै करिब २२ प्रतिशत विद्यार्थी दक्ष शिक्षकहरू तथा गुणस्तरीय शैक्षिक सामग्रीहरूबाट वञ्चित भएको पाईयो भने हरेक वर्ष प्लस टु, बीबीएस र एमबीएसमा ५३ प्रतिशत परिक्षार्थीहरू अनुत्तीर्ण हुने गरेको देखियो ।
विभिन्न तहमा भर्ना हुने विद्यार्थीहरू मध्ये ६० देखि ७० प्रतिशत विद्यार्थीहरूको रोजाइको भाषा नेपाली माध्यम रहेपनि अङ्ग्रेजी माध्यममा आधारित सामाग्रीहरूको मात्र उपलब्धता रहेको अध्ययनले देखाएपछि उक्त समस्या समाधानका लागि डिजिटल प्लाटर्फम तयार गरिएको संस्थापक भट्टराईले बताए ।
त्यसपछि भट्टराईले नयाँ वर्ष २०८० काे अवसर पारी व्यवस्थापन संकायका विभिन्न विषय अध्यापन गराउन ‘ई विद्या’ नामक एप्लिकेशन सञ्चालनमा ल्याएका हुन् ।
भौगोलिक विविधताका कारण मुख्य समस्याको रूपमा धेरै विद्यार्थीहरू दक्ष शिक्षकहरूसँगको पहुँच र गुणस्तरीय पाठ्यसामाग्रीहरूको अभावमा रहेकाले सोही समस्या समाधान गर्न विकसित शहरहरूमा योग्य एवम् दक्ष शिक्षकहरू सहजै उपलब्ध हुने भएकाले सबैलाई समान खालको अवसर प्रदान गर्न ‘ई विद्या’ स्थापना भएको भट्टराईले बताए ।
‘ई विद्या’ का लागि ८ करोडभन्दा बढी लगानी गरिसकेको यस कम्पनीले भविष्यमा डिजिटल सिकाइका अभ्यासलाई थप विस्तार गर्दै विद्यार्थीलाई सहज हुने गरी सेवा थप्ने योजना बनाएको छ । ‘ई विद्या’ को प्रयास नव-प्रवर्द्धनकारी कदम मात्र नभएर शैक्षिक क्षेत्रमा व्यवस्थित परिवर्तन ल्याउँदै सबैमा शिक्षाको पहुँचलाई अभिवृद्धि गर्ने गतिशील कदम भएको उनको भनाइ छ ।
उनका अनुसार ‘ई विद्या’ एप्लिकेसनमा आधारित विद्युतीय सिकाइको हो, जसको माध्यमबाट प्रयोगकर्ताहरूले त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय तथा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका साथै उच्च माध्यमिक शिक्षा अन्तर्गतका विभिन्न तहहरूको पाठ्यक्रममा आधारित सबै विषयहरूको पूर्ण रूपमा भिडियो सामग्रीहरू सुलभ मूल्यमा पाउँनेछन् ।
एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध भइसकेको इ–विद्यामा अनलाइन लगइन गरेर आफूलाई आवश्यक कोर्षहरु खरिद गर्न सकिन्छ । कोर्ष खरिदा गर्दा खल्ती, फोन पे, ई-सेवा, एप्पल पे र बैंक भौचर मार्फत भुक्तानी गर्न सकिनेछ।
इ–विद्या एप प्रति एक पटक डाउनलोड भएवापत रु. १ राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गर्ने आपसी समझदारी भएको छ। यसमा इन्टरनेट नभएको समयमा समेत अफलाइनमा बसेर पनि भिडियो हेर्ने सुविधा छ ।
त्यस्तै ती भिडिओ हेर्दा विद्यार्थीले कुनै करा बुझेनन् भने प्रश्न सोध्नका लागि चाैबिसै घण्टा विद्यार्थी सहायता कक्ष स्थापना गरिएको छ । विश्वविद्यालयले विगतमा सोधेका प्रश्नपत्रहरू, परीक्षाको पूर्व तयारीका निम्ति सम्पूर्ण विषयहरूको पाठ्यक्रमहरु र अन्तिम परीक्षा अगाडि आफूले खरिद गरेको विषयसँग सम्बन्धित प्राध्यापकसँग निःशुल्क प्रत्यक्ष अन्तरक्रियाको अवसर पनि विद्याले दिने छ ।
‘ई विद्या’ ले ३५ जनाभन्दा बढी चर्चित तथा निपुण प्राध्यापकहरूलाई समावेश गरी सम्बन्धित विषयहरूको भिडियो सामग्रीहरू निमार्ण गरेको छ । प्रा.डा. सुशिल भक्त माथेमा, प्रा.डा. अतिन्द्र दहाल, डा. एके चौधरी, डा. गोपाल थापा, रिजन ढकाल, डा. सुरेन्द्र महतो, प्रकाशकुमार गौतम लगायतले भिडियो लेक्चरर छन् ।
कम्पनीले ‘ई विद्या’ मार्फत व्यावसायिक तालिम तथा व्यक्तित्व विकासका तालिमहरू दिने योजना पनि बनाएको छ । विदेशी विश्वविद्यालयहरूको सम्बन्धन प्राप्त गरेर दुर शिक्षाको सेवा प्रदान गर्ने र संस्थागत सामाजिक दायित्व अन्तर्गत विभिन्न विषयका दक्ष शिक्षकहरूसँग अनुबन्धित हुँदै सरकारी विद्यालयको कक्षा ६ देखि १० सम्मको सम्पूर्ण विषयहरूको भिडियो सामग्री निर्माण गर्ने योजना पनि ‘ई विद्या’ को छ ।
प्रत्येक कलेजको व्यवस्थापन संकाय अन्तर्गत प्लास २ र स्नातक तहमा सर्वोकृष्ट अङ्क हासिल गर्ने विद्यार्थीहरू मध्येबाट ३/३ जनालाई त्यसभन्दा माथिको तहको अध्ययनमा इ–विद्याको कोर्षहरूमा कुनैपनि शुल्क नलाग्ने व्यवस्था पनि गरिंदैछ ।
आफ्नो कलेजभन्दा बाहिर सिकाइका अवसरहरू खोज्न समस्या हुने ,स्रोत तथा साधनहरूको कमी हुने, भर्ना दरको तुलनामा विद्यार्थीको उत्तीर्ण दर अति न्यून हुने समस्या समाधन गर्न पनि इ विद्याले सघाउने कम्पनीको विश्वास छ ।
भट्टराईले दक्ष तथा अनुभवी शिक्षक तथा प्राध्यापक मार्फत शिक्षालाई राजधानीबाट देशका कुना काप्चामा तथा विदेशमा रहेका सबै विक्षार्थीहरू माझ उपलब्ध गराउनु हाम्रो मूल उद्देश्य हो साथै यसले गुणस्तरीय डिजिटल सामाग्रीलाई कक्षाकोठा सरहको अनुभव प्रदान गराउँदै विद्यार्थी माझ पुर्याउने आकांक्षा रहेको पनि बताए ।