अब लाइसेन्स घरमै, तीन सरकारी निकायबीच भयो त्रिपक्षीय सम्झौता
६ असोज, काठमाडौं।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई थप व्यवस्थित, छिटो र सहज बनाउने उद्देश्यले सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ। यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच मङ्गलबार पूर्वाधार विकास मन्त्रालयमा औपचारिक रूपमा यो सम्झौता भएको हो।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत मन्त्रालयमा यी तीन निकायबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएका छन्।
यस सम्झौतासँगै अब सेवाग्राहीले आफ्नो लाइसेन्स लिनका लागि अनिवार्य रूपमा सम्बन्धित यातायात कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्नेछ। सेवाग्राहीले अब लाइसेन्स सम्बन्धित यातायात कार्यालयबाट मात्रै नभई आफूले चाहेको ठेगानामा, अर्थात् सीधा घरमै समेत प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको छ।
सम्झौताअनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS)’ मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जानेछ। प्राप्त सोही डाटाका आधारमा सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइको कार्य गर्नेछ।
यो नयाँ व्यवस्थाले विगतमा लाइसेन्स छपाइका क्रममा देखिँदै आएका विभिन्न प्राविधिक समस्या तथा डाटा आदानप्रदानमा लाग्ने लामो समयलाई कटौती गर्ने अपेक्षा गरिएको छ।
सुरक्षण मुद्रण केन्द्रमा छपाइ भएका लाइसेन्स हुलाक सेवा विभागमार्फत सम्बन्धित प्रदेश कार्यालयमा पठाइनेछ। त्यसपछि प्रदेश कार्यालयबाट सेवाग्राहीलाई लाइसेन्स वितरण गरिने व्यवस्था मिलाइएको छ।
For More: Driving License Home Delivery

