बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीहरूका लागि नाडाद्वारा आवश्यक सहजीकरण र क्षतिको विवरण माग
६ असोज, काठमाडौं।
हालै भोटेकोसीमा आएको बाढी तथा डुबानका कारण देशको अटोमोबाइल क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको छ।
भन्सार नाकालगायत विभिन्न स्थानमा आयातित सवारीसाधनमा क्षति पुग्नुका साथै धेरै सवारीसाधन हराएका छन् भने व्यवसायीका गोदाम, कार्यालय र भौतिक पूर्वाधारमा समेत ठूलो असर परेको छ। यस विषम परिस्थितिप्रति नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
अप्ठ्यारोमा परेका आफ्ना सदस्य तथा व्यवसायीहरूको साथमा उभिन नाडाले सम्बन्धित सरकारी निकाय, बीमा कम्पनी, बैंक तथा वित्तीय संस्था, भन्सार कार्यालय र अन्य सरोकारवालाहरूसँग आवश्यक समन्वय तथा पहल सुरु गरिसकेको छ।
प्रभावित व्यवसायीहरूलाई क्षतिको विवरण पठाउन आग्रह
बाढी तथा डुबानबाट प्रभावित सदस्य कम्पनीहरूलाई आफ्नो क्षतिको यथार्थ तथा प्रमाणित विवरण यथाशीघ्र नाडा सचिवालयमा उपलब्ध गराउन आग्रह गरिएको छ। विवरणमा सम्भव भएसम्म तलका विषयहरू समावेश गर्न भनिएको छ:
-
बाढी तथा डुबानबाट क्षति भएका र हराएका वा सम्पर्कविहीन सवारीसाधनको विवरण।
-
सवारीसाधन रहेको स्थान, सम्बन्धित भन्सार नाका, संख्या, प्रकार तथा पहिचान विवरण।
-
गोदाम, कार्यालय र अन्य भौतिक संरचनामा भएको क्षतिको विवरण।
-
बीमा गरिएको सम्पत्ति, सवारीसाधन तथा बीमा दाबीका लागि आवश्यक कागजातहरू।
-
बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋणसँग सम्बन्धित विवरण र अन्य प्रत्यक्ष व्यावसायिक क्षति।
समस्या समाधानका लागि विशेष पहल र समिति गठन
नाडाले प्राप्त विवरणका आधारमा बीमा दाबी प्रक्रियालाई छिटो र सहज बनाउन, साथै भन्सार नाकामा रहेका क्षतिग्रस्त वा हराएका सवारीसाधनको पहिचानका लागि सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्ने जनाएको छ।
त्यसैगरी, प्रभावित व्यवसायीहरूले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको पुनर्संरचना, भुक्तानी अवधि पुनरावलोकन लगायतका सम्भावित सहजीकरणका लागि पनि पहल गरिनेछ। यस कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नाडाले आवश्यकता अनुसार ‘समन्वय तथा सहजीकरण समिति’ गठन गरी व्यवसायीका समस्याहरू सम्बन्धित निकायसम्म पुर्याउने तयारी गरेको छ।
For More: NADA Flood Damage Details

