क्यान महासंघको केन्द्रीय सदस्यमा सुरेन्द्र न्यौपानेको दाबी
काठमाडौं, कात्तिक २०
कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ)को आसन्न १३औं कार्य समितिको निर्वाचनका लागि सुरेन्द्र प्रसाद न्यौपानेले केन्द्रीय सदस्य (संस्थागत)मा उम्मेदवारी दिने भएका छन् । २ दशक देखि सूचना प्रविधि क्षेत्रमा क्रियाशील न्यौपाने क्यानमा ०६२ साल देखि आबद्ध छन् ।
उनी मेडिफ्लो सोलुसन प्रा लि का चिफ अपरेटिङ अफिसर एवं सर्च टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक हुन् । सफ्टवेयर विकास एवं अनुसन्धानमा विशेष दक्षता सँगालेका न्यौपाने युवा आइटी व्यवसायी एवं कुशल व्यवस्थापकको रुपमा परिचित छन् । उनले उत्कृष्ट सफ्टवेयरहरु उत्पादन गरी राष्ट्रिय अवार्ड समेत प्राप्त गरेका छन् ।
क्यान महासंघमा सिर्जनशील तथा युवा पुस्ताको सहभागिता तथा अवसर सिर्जना गर्दै आइटी उद्योग मैत्री नीति र कार्यक्रमका लागि सरोकारवालाहरु सँग समन्वय एवं सहकार्य गर्न र महासंघ मार्फत् नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा योगदान दिनआफूले उम्मेदवारी दिएको न्यौपानले बताए ।
सूचना प्रविधिको तिव्र विकास र विस्तार भइरहँदा यस क्षेत्रमा देखिएका अवसरहरु पहिचान गरी क्षमता विकास, नीति निर्माण तथा सहज वातावरण तयार गर्न क्यानको अहम् भूमिका रहनुपर्ने धारणा उनको छ । ‘देश विदेशका योग्य व्यक्तिहरु लाई जोड्दै क्यानले उनीहरुको क्षमतालाई सदुपयोग गर्ने, अवसर सिर्जना गरिदिने र आइटी उद्योग लाई देशको विकासँग जोड्ने काम गर्नुपर्छ,’ न्यौपानेले भने ।
नेपालको सूचना प्रविधि क्षेत्रकाअवसर पहिचान गर्न सम्पूर्ण रोजगारदाता र सरोकारवाला सँगको सहकार्यमा समस्या, चुनौती र अवसर छुट्याउनु पर्ने आवश्यकता रहेको उनी बताउँछन् । ‘क्यान यो क्षेत्रको अगुवा संस्था हो । देशै भरका आइटी व्यावसायी, विज्ञ तथा बौद्धिक व्यक्तिहरु, कम्पनीहरु यो छाता संगठन भित्र अटाएका छन् । यसर्थ सम्पूर्ण सदस्यहरुको सामूहिक प्रयास र प्रतिबद्धता लाई जारी राख्दै पेशागत हक हित र यो क्षेत्रलाई सुदृढिकरण गर्न क्यानले सार्थक भूमिका खेल्न सक्छ,’ उनले भने ।
‘मेरो अनुभव र दक्षताले यी काम सहित संस्थागत विकासको लागि नेतृत्वदायी भूमिका रहन सक्छ भन्ने हो । मेरो आत्मविश्वास सँगै यस क्षेत्रमा सहकार्य गरिरहेका साथीहरुको हौसला र सहयोगले क्यान महासंघ मार्फत सूचना प्रविधि क्षेत्रमा योगदान गर्न मेरो उम्मेदवारी रहेको छ,’ उनले भने ।
आगामी मंसिर७ गते क्यान महासंघको वार्षिक साधारण सभा एवं नयाँ कार्य समितिको निर्वाचन हुँदै छ ।