कृषि विकास बैंक र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीच कृषि उद्यमशीलता प्रवर्द्धनका लागि सम्झौता
१२ साउन, काठमाडौं।
कृषि विकास बैंक लिमिटेड (ADBL) र चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) बीच कृषि क्षेत्रको विकास, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि एक महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा कृषि विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेलले हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा बैंकको तर्फबाट उपमहाप्रवन्धक द्धय सुशिल हुंमागाई र सुदिप दहाल, विभागीय प्रमुख वीना शर्मा, निकु आचार्य, बरिष्ठ शाखा प्रमुख महेश्वर मरहट्टा तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका योजना निर्देशनालयका निर्देशक डा. रामहरी तिमिल्सिनाको समेत उपस्थीति रहेको थियो ।
समझदारी अनुसार दुवै संस्थाले कृषि तथा वन क्षेत्रको अनुसन्धान, नवप्रवर्तन, व्यवसायिक कृषि विकास, उद्यमशीलता प्रवद्र्धन, सीप विकास तथा बैंक–शैक्षिक संस्थाबीचको सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा कार्य गर्नेछन् ।
बैंकले विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक तथा कर्मचारीलाई वित्तीय साक्षरता, व्यवसाय योजना, उद्यम विकास, बैंकिङ तथा वित्तीय परामर्श सेवा, अनुसन्धान अनुदान, इन्टर्नशिप तथा उद्यमशीलता विकास कार्यक्रम मार्फत सहयोग गर्नेछ ।
साथै विश्वविद्यालयमा सञ्चालित बिजनेस इन्क्युबेशन सेन्टर, कृषि नवप्रवर्तन तथा स्टार्टअप प्रवद्र्धनका कार्यक्रमलाई आवश्यक प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउनेछ ।
समझदारीपत्र अन्तर्गत दुवै संस्थाले कृषि वित्त, जलवायु वित्त, ग्रामीण बैंकिङ, मूल्य शृङ्खला विकास, बजार पहुँच, अनुसन्धान तथा प्रविधि हस्तान्तरण, संयुक्त तालिम, गोष्ठी, कार्यशाला, प्रदर्शनी र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सहमति गरेका छन् । यसबाट कृषि क्षेत्रमा नवप्रवर्तन, रोजगारी सिर्जना तथा दिगो कृषि विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कृषि विकास बैंक लि. ले यो सहकार्यमार्फत कृषि क्षेत्रमा आधारित अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवर्द्धन गर्दै आधुनिक, प्रतिस्पर्धी र दिगो कृषि प्रणाली निर्माणमा आफ्नो भूमिका अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
For More: ADBL AFU Agricultural Agreement

