फेसबुकको सही प्रयोगले आयु बढाउने

 फेसबुको सही प्रयोग गर्नाले मानिसको आयुु बढाउन सहयोग गर्ने एक अध्ययनले देखाएको छ । झण्डै एक करोड बीस लाख जना फेसबुक प्रयोगकर्तामा गरिएको अध्ययनले वास्तविक सामाजिक सम्बन्ध कायम तथा वृद्धि गर्नमा फेसबुकले सहयोग गर्ने देखाएको हो ।सबल सामाजिक सम्बन्ध तथा सञ्जाल हुने मानिसहरु लामो समयसम्म बाँच्ने लामो समयदेखिको वैज्ञानिक अवधारणालाई पछिल्लो अध्ययनले थप पुष्टि गरेको छ ।

क्यालिफोर्निया विश्वविद्यालयमा विद्यावारिधी गरिरहेका विलियम हब्सका अनुसार अनलाइनमा धेरै समय बिताउने तर मानिसहरुसँग सम्बन्ध तथा अन्तरक्रिया कम गर्नु नकारात्मक हुन्छ ।शोधकर्ताहरुका अनुसार अफलाइन अर्थात् वास्तविक सामाजिक सम्बन्धमात्र होइन अनलाइन गतिविधिले समेत मानिसको स्वास्थ्यमा प्रभाव पार्दछ ।अनलाइन क्रियाकलाप मध्यमस्तरमा रहने र अफलाइनमा वा प्रत्यक्ष रुपमा पृष्ठपोषण र अन्तरक्रिया भएमा अनलाइन अन्तरक्रिया पनि स्वस्थ र फलदायी हुने शोधकर्ताको ठम्याई छ । अर्का शोधकर्ता प्राध्यापक जेम्स फलर भन्छन्ः सबै फेसबुक प्रयोगकर्ताका लागि खुसीको कुरा, फेसबुकको सन्तुलित प्रयोगले मृत्युको खतरामा कमी ल्याउँछ । शोधकर्ताहरुले क्यालिफोर्नियास्थित फेसबुक प्रयोगकर्ताबाट प्राप्त तथ्य र क्यालिफोर्निया स्वास्थ्य विभागका तथ्यांकलाई तुलना तथा विश्लेषण गरी उक्त निष्कर्ष निकालेका हुन् ।