यती एयरलाइन्सले पूरा गर्यो २८ वर्ष : एक वर्षमा ९ लाख यात्रुलाई सेवा
५ असोज, काठमाडौं।
निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक उडानको २८ वर्ष पूरा गरेको छ।
सन् १९९८ देखि उडान सेवा सुरु गरेको यस कम्पनीले २८औँ वार्षिकोत्सवको अवसरमा पछिल्लो एक वर्षको अवधिमा मात्रै ९ लाखभन्दा बढी यात्रुलाई सेवा दिएको जानकारी दिएको छ।
बदलिँदो बजार, बढ्दो प्रतिस्पर्धा, विमानस्थल पूर्वाधारको सीमितता र मौसमजन्य अवरोधजस्ता विभिन्न चुनौतीका बाबजुद एक वर्षमा ९ लाख यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्याउन सक्नुलाई कम्पनीले ठूलो व्यावसायिक उपलब्धि र यात्रुको निरन्तर विश्वासका रूपमा लिएको छ।
कम्पनीले उड्डयन सुरक्षालाई आफ्नो व्यवसायको मुख्य आधार मान्दै आएको छ। नियमित प्राविधिक निगरानी, चालक दल तथा प्राविधिक जनशक्तिको उच्च स्तरको तालिम र सुरक्षा व्यवस्थापन प्रणालीमा निरन्तर सुधार तथा लगानी गर्दै आएको कम्पनीको भनाइ छ। सुरक्षित, भरपर्दो र सहज उडान सेवा प्रदान गर्नु नै आफ्नो दीर्घकालीन प्रतिबद्धता रहेको यती एयरलाइन्सले जनाएको छ।
वायुसेवा क्षेत्रमा बढ्दो प्रतिस्पर्धासँगै यात्रुको सुविधालाई ध्यानमा राख्दै टिकट बुकिङदेखि विमानस्थल सेवा र उडान अनुभवसम्मका प्रक्रियामा डिजिटल प्रविधिको प्रयोग बढाइएको छ। सूचना प्रवाह, समय व्यवस्थापन र कर्मचारीको व्यवहारलाई थप प्रभावकारी बनाउँदै यात्रुका सुझावलाई सेवा सुधारको मुख्य आधार बनाइएको कम्पनीले बताएको छ।
नेपालको भौगोलिक अवस्थाका कारण पर्यटन, व्यापार, स्वास्थ्य र शिक्षा क्षेत्रमा हवाई यातायातको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ। यती एयरलाइन्सले देशका प्रमुख शहर तथा पर्यटकीय गन्तव्यहरूलाई हवाई सेवामार्फत जोड्दै आन्तरिक अर्थतन्त्र र पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको छ।
आगामी दिनमा पनि अझ बढी सुरक्षित, भरपर्दो, यात्रुमैत्री र प्रविधिमैत्री सेवा प्रदान गर्दै अघि बढ्ने २८औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले प्रतिबद्धता जनाएको छ।
For More: Yeti Airlines 28 Years

