नेप्सेको डाटा सेन्टरमा प्राविधिक समस्या: आजको शेयर कारोबार स्थगन
५ असोज, काठमाडौं।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणालीमा प्राविधिक समस्या देखिएपछि आजको शेयर कारोबार स्थगन गरिएको छ।
नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य कम्पनीहरू (स्टक ब्रोकर) हरूको सर्भर राखिएको डाटा सेन्टर ‘डाटा हब प्रा.लि.’ मा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको थियो। उक्त समस्या समाधानका लागि निरन्तर पहल भइरहे पनि हालसम्म पूर्ण रूपमा समाधान भइसकेको छैन।
यस्तो अवस्थामा शेयर कारोबार सञ्चालन गर्दा नेप्सेको समग्र कारोबार प्रणालीमा नै थप क्षति पुग्न सक्ने देखिएको छ। प्रणालीको सुरक्षालाई मध्यनजर गर्दै आजको नियमित कारोबार सत्र स्थगित गरिदिन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत औपचारिक निवेदन दिएको थियो। सोही अनुरोध र परिस्थितिको मूल्यांकन गर्दै आजका लागि सेयर बजारको कारोबार स्थगन गर्ने निर्णय गरिएको हो।
For More: NEPSE Share Trading Suspended

