युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ मा, लाभांश मुख्य अजेन्ड
१० असार, काठमाडौं ।
युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले आगामी असार ३१ गते काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्यांक्वेटमा बिहान १०:३० बजेबाट सभा आयोजना गर्ने निर्णय गरेको हो।
उक्त सभाले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापुँजी २ अर्ब ३१ करोड रुपैयाँको कुल ४.५११३ प्रतिशत लाभांश अनुमोदन गर्ने मुख्य एजेन्डा तय गरेको छ।
यस अन्तर्गत ४.२८५७ प्रतिशत (रु. ९ करोड नब्बे लाख बराबर) बोनस शेयर र कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत (रु. ५२ लाख १० हजार ५ सय २६ र पैसा ३२) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
बोनस शेयर वितरण गरेपश्चात कम्पनीको जारी पुँजी साविकको २ अर्ब ५४ करोड १० लाख रुपैयाँबाट वृद्धि भई २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने भएकाले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्तावसमेत सभामा पेश गरिनेछ।
यसका साथै, संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने नियमनकारी निकायहरूबाट कुनै फेरबदल, थपघट वा राय-सुझाव प्राप्त भएमा सोहीअनुसार परिमार्जन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरिनेछ।
सभामा गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि नयाँ लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने अजेन्डा रहेको छ।
कम्पनीले लाभांश र साधारणसभा प्रयोजनका लागि आगामी असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार असार १९ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।
For More:-United Ajod Insurance AGM


