टोखामा डेंगु र औलो नियन्त्रण सचेतना कार्यक्रम: बच्ने उपायबारे ग्राण्डी अस्पतालका डाक्टरको सुझाव
१७ वैशाख, काठमाडौं।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको सहकार्यमा टोखामा डेँगु तथा औलो नियन्त्रण सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
वर्षायामको सुरुवातसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेँगु र औलो जस्ता प्राणघातक रोगको जोखिम बढ्ने भएकाले टोखा–६ का बासिन्दालाई पूर्वसतर्कता अपनाउनका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै टोखा–६ की वडाअध्यक्ष शान्ता पौडेल खनालले विगतका वर्षमा डेंगुले निम्त्याएको समस्या र पहिले उन्मूलन भइसकेको भनिएको औलो रोग फेरि देखा पर्न थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
“वर्षा सुरु भएसँगै लामखुट्टेको टोकाइबाट हुने समस्या बढ्छन्, हामीले टायर, ग्यारेज, होटलका ड्रमहरू र पानी जम्ने ठाउँहरूमा विशेष ध्यान दिनुपर्छ,”– उहाँले भन्नुभयो ।
कार्यक्रममा ग्राण्डी अस्पतालका इन्टरनल मेडिसिन डाक्टर प्रशान्त त्रिपाठीले गर्मी मौषम सुरु भएसँगै डेँगु, मलेरियालगायतका रोगको प्रकोप बढ्ने भएकाले सरसफाईमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले आफ्नो घर वरपर पानी जम्न नदिने, पुराना टायर र भाँडामा पानी जम्मा हुन नदिने र सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो ।
डा. त्रिपाठीले डेँगु ‘एडिस’ जातको लामखुट्टेले सार्ने गरेको बताउनुभयो । उक्त लामखुट्टे विशेषगरी दिउँसो, बिहान झुल्के घाम र साँझपख बढी सक्रिय हुने गरेको उहाँको भनाई थियो ।
डेँगुको मुख्य लक्षणमा उच्च ज्वरो आउनु, आँखाको गेडी दुख्नु, अत्यधिक कमजोरी महसुस हुनु र हड्डी नै भाँच्चिएको जस्तो गरी ढाड र जोर्नी दुख्नु रहेको डा त्रिपाठीले बताउनुभयो ।
उहाँले मलेरिया (औलो) ‘एनोफिलिस’ नामको लामखुट्टेले सार्ने परजीवी रोग भएकाले यसबाट जोगिनु आवश्यक रहेको बताउनुभयो । औलोको लक्षणमा कामज्वरो आउनु, अत्यधिक पसिना आउनु, टाउको दुख्नु र कमजोरी हुनु रहेको उहाँले बताउनुभयो ।
डा. त्रिपाठीले डेँगु र मलेलियाबाट बच्न पानी जम्न नदिने, सुत्ने बेला अनिवार्य झुलको प्रयोग गर्ने, शरीर पूरै ढाकिने गरी पूरा बाहुला भएका लुगा लगाउने र लामखुट्टे धपाउने क्रिम वा स्प्रे प्रयोग गर्ने रहेको बताउनुभयो । यस्तै, सामुदायिक सरसफाइमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।
उहाँले दुई दिनभन्दा बढी समयसम्म उच्च ज्वरो आएमा, लगातार वान्ता भएमा, असाध्यै पेट दुखेमा वा शरीरबाट रगत बगेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नसमेत अनुरोध गर्नुभएको छ ।
For more: Tokha Malaria Prevention Campaign


