काठमाडौं महानगरको कर भुक्तानी अब कनेक्टआईपीएसबाट

Tax Payments KMCO

१६ कात्तिक २०७८, काठमाडौं ।

स्थानीय सरकारको कर भुक्तानी समेत अनलाईनबाटै गराउने गरी काठमाण्डौं महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी कनेक्टआईपीएस मार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ । यस सुविधाको लागी काठमाडौं महानगरपालिकालाई कनेक्टआईपीएसमा नबिल बैंक मार्फत आबद्ध गराइएको हो ।

यस सुविधासँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी अनलाईन भुक्तानीको लागी  कनेक्टआईपीएस ई-पेमेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् ।

कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुने भएकोले करदातालाई यस सुविधाले सहज हुने विश्वास गरिएको छ ।

यो प्रणालीमा पब्लिक र कोर पोर्टल गरी २ वटा प्लेटर्फम छन् । तीमध्ये पब्लिक पोर्टलका फिचर जनसाधारण सबैका लागि उपयोग गर्न मिल्ने खालका छन् । साइट खोलेर करदाताले यसैका फिचर प्रयोग गरेर आफ्नो व्यवसाय, घरजग्गा वा अन्य करको प्रारम्भिक मूल्याङ्कन आफैं गर्न सक्नेछन् । आफूले कति कर तिर्नुपर्छ भन्ने करदातालाई थाहा हुनेछ ।

यो विवरण फरवार्ड गरेपछि कर मूल्यांकन अधिकृतले प्रचलित कानुन र दररेटका आधारमा कर मूल्यांकनलाई अप्रुभल दिनेछन् । यसपछि करदाताले आफूसँग भएका अनलाइन पेमेन्ट सिस्टमबाट वा वडामा गएर कर दाखिला गर्न सक्नेछन् ।

राजस्व विभागका प्रमुख नुरनिधि न्यौपानेले महानगरको प्रगतिशील कर प्रणाली निर्माण गर्ने नीतिका आधारमा यो प्रणाली विकास गरिएको बताए ।

वाषिर्क २ लाख रुपैयाँसम्मको राजस्व मूल्याङ्कनको अधिकार वडालाई दिइएको छ । सफ्टवेयरको प्रयोगात्मक सिकाइका लागि महानगरले भोलि र पर्सि २ दिन वडालाई ४ समूहमा बाँडेर तालिम सञ्चालन गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here