मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई, पुँजी बजारबारे छलफल
१८ असार, काठमाडौं।
नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टसँग शिष्टाचार भेटघाट गरेका छन् ।
संघका पदाधिकारी तथा सदस्यहरूले अध्यक्ष डा. भट्टका साथै धितोपत्र बोर्डका कार्यकारी निर्देशकहरूलाई भेटेर सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गरेका हुन् । सो अवसरमा संघले डा. भट्टको सबल नेतृत्वमा नेपालको पुँजी बजार अझ बढी प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने बलियो विश्वास समेत व्यक्त गरेको छ ।
भेटका क्रममा नेपाल मर्चेन्ट बैंकर्स संघले (MBAN) अध्यक्ष डा. भट्टको नेतृत्वमा नेपालको पुँजी बजार अझ प्रभावकारी, पारदर्शी र विश्वसनीय बन्ने विश्वास व्यक्त गरेको थियो
अध्यक्ष डा. भट्टले नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) प्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि निजी क्षेत्रसँग सहकार्य र निरन्तर संवादलाई प्राथमिकता दिइने बताए ।
औपचारिक शुभकामना आदानप्रदानका साथै दुवै पक्षबीच नेपालको पुँजी बजारको समसामयिक अवस्था र यसको विकासका प्राथमिकताहरूमाथि विस्तृत छलफल भएको थियो ।
विशेषगरी म्युचुअल फण्ड (सामूहिक लगानी कोष), प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) तथा प्राइभेट इक्विटी जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा आम लगानीकर्ताको विश्वास कसरी बढाउने भन्ने विषयमा गहन विचार विमर्श भएको थियो । बजारमा लगानीमैत्री वातावरण सिर्जना गरी पुँजी बजारलाई थप गतिशील र चलायमान बनाउन दुवै निकाय मिलेर अघि बढ्नुपर्नेमा जोड दिइएको छ ।
यसैगरी, धितोपत्र बजारमा पारदर्शिता, संस्थागत सुशासन र नियामकीय प्रभावकारिता अभिवृद्धि गर्दै लगानीकर्ताहरूको हित रक्षा गर्ने विषयमा दुवै पक्षले प्रतिबद्धता जनाएका छन् ।
छलफलको निष्कर्ष स्वरूप, नेपाल मर्चेन्ट बैंकर्स संघ र धितोपत्र बोर्ड दुवैले नेपाली पुँजी बजारको दिगो, व्यवस्थित तथा समावेशी विकासका लागि आपसी सहकार्य, निरन्तर समन्वय र ओझेलमा परेका मुद्दाहरूमा संवादलाई थप सुदृढ बनाउँदै लैजाने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
For More: Sebon Chairman Market Discussion


