सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घट्यो
यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादरमा दुई प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ। विभागले तयार पारेको सूचना अनुसार इन्धनको बजार मूल्यमा आएको गिरावटलाई आधार मान्दै भाडा समायोजन गरिएको हो ।
विभागका अनुसार यसअघि डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेकोमा हाल घटेर १९३ रुपैयाँ ८३ पैसा कायम भएको छ । इन्धनको मूल्यमा आएको यही कमीलाई आधार बनाएर सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घटाइएको विभागले जनाएको छ ।
उक्त घटेको भाडादर यही असार १८ गतेदेखि नै लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश जोड्ने राष्ट्रिय स्तरका रूटहरूमा सञ्चालन हुने सार्वजनिक यातायातमा कार्यान्वयनमा आउने विभागले जनाएको छ।
यसअघि डिजेलको मूल्य बढ्दा विभागले यात्रुवाहक तथा मालवाहक सवारीसाधनको भाडा पाँच प्रतिशतसम्म वृद्धि गरेको थियो । त्यतिबेला पूर्ण रूपमा भाडा समायोजन हुन नसकेका कारण अहिले इन्धनको मूल्य घटेसँगै त्यसलाई समेत समेटेर दुई प्रतिशतले भाडा घटाउने निर्णय गरिएको विभागको भनाइ छ ।
For More: Public Transport Fares Slashed


