सानु थापा बनिन् ‘ब्युटिसियन नेपाल–२०२६’, नेफा अवार्डका लागि लन्डन जाने अवसर
१५ वैशाख, काठमाडौं।
सानु थापाले सौन्दर्यकर्मीहरूको प्रतिष्ठित प्रतियोगिता ‘ब्युटिसियन नेपाल–२०२६’ को उपाधि जितेकी छन्।
राजधानीको ज्यापु एकेडेमीमा आइतबार भव्य रूपमा सम्पन्न बाह्रौँ संस्करणको यस प्रतियोगितामा दर्जनभन्दा बढी प्रतियोगीलाई पछि पार्दै थापाले मुख्य ताज पहिरिएकी हुन्।
उपाधिसँगै उनले लन्डनमा आयोजना हुने ‘नेफा अवार्ड २०२६’ मा सहभागी हुने विशेष इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन्। मुख्य उपाधि विजेता थापाले ‘मोस्ट इन्टेलिजेन्ट’ विधाको अवार्ड समेत आफ्नो पोल्टामा पारेकी छन्।
हिमालयन मुभिजको आयोजनामा सम्पन्न सो प्रतियोगितामा अञ्जली गोले ‘फस्ट रनरअप’ र सरिता श्रेष्ठ ‘सेकेन्ड रनरअप’ घोषित भए। अञ्जलीले ‘मोस्ट कन्फिडेन्ट’, ‘पब्लिक भिडियो च्वाइस’ र ‘मोस्ट पपुलर’ गरी तीनवटा सब–टाइटल समेत जितिन् भने सरिताले ‘मोस्ट स्मार्ट’ को उपाधि हात पारिन्।
सौन्दर्यकर्मीहरू केवल अरूको शृङ्गारमा मात्र सीमित नभई आफ्नै व्यक्तित्व र आन्तरिक सुन्दरता निखार्दै मञ्चसम्म पुग्नुपर्छ भन्ने उद्देश्यका साथ आयोजित फाइनलमा प्रतियोगीहरूले ब्राइडल थिममा आकर्षक प्रस्तुति दिएका थिए।
प्रतियोगीहरूलाई तीन सातासम्म व्यक्तित्व विकास, स्टेज प्रस्तुतीकरण र बौद्धिक क्षमता अभिवृद्धिको तालिम वरिष्ठ फेसन कोरियोग्राफर हिमानी सुब्बाले प्रदान गरेकी थिइन्।
कार्यक्रममा विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको थियो। जसअन्तर्गत रञ्जना राणाले ‘वेस्ट ब्राइडल’ र ‘वेस्ट पर्सनालिटी’, विभु श्रेष्ठले ‘वेस्ट मोडल मेकअप’, सम्झना ढकालले ‘वेस्ट नेल आर्ट’ र शोभा श्रेष्ठले ‘वेस्ट जुरो’ र ‘वेस्ट मल्टिमिडिया’ को उपाधि जिते। त्यस्तै, रोजी भ्लोन ‘मोस्ट चार्मिङ’, ज्ञानु गुरुङ ‘मोस्ट डेडिकेटेड’, जुना थापा मगर ‘मोस्ट डिलीजेन्ट’, निर्मला रम्तेल ‘मोस्ट ग्रेसफुल’ र हीरा थापा ‘मोस्ट प्यासोनेट’ घोषित भए।
वरिष्ठ सौन्दर्यविद् कमला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको निर्णायक मण्डलमा नायिका शुष्मा अधिकारी, मिसेस हिमालयन नेपाल कविता बिशुंखे, डरम्याटोलोजिस्ट डा. मुना विस्ट, मोडल अभिषेक खड्का र अभिनेता दिक्पाल कार्की रहेका थिए। टप १० र टप ६ हुँदै प्रश्नोत्तर चरण पार गरेर विजेता छानिएको यस कार्यक्रमले नेपाली ब्युटिसियनहरूको पेशागत सीप र प्रतिभालाई उत्कृष्ट ढङ्गले उजागर गरेको छ।
For More:-Beautician Nepal 2026 Winner



