रसुवा बाढीका कारण प्रभावित बन्यो नाडा अटो शो २०२६, अवलोकनकर्ताको संख्यामा गिरावट
१३ भदौ, काठमाडौं।
रसुवामा गएको विनाशकारी बाढीका कारण काठमाडौंमा जारी नाडा अटो शो २०२६ प्रभावित बनेको छ।
अटो शो मा अपेक्षा गरेअनुसार अवलोकनकर्ताहरुको उपस्थिति देखिएको छैन् ।
भदौ ९ देखि १४ गतेसम्म नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) आयोजना गरेको शो अन्तर्गत शनिबार केही भीड देखिएपनि उद्घाटन समारोहपछिका दुई दिन विनाशकारी विपत्तिको असर देखिएको हो ।
शनिबार भने अवलोकनकर्ताको भीड बढेको ‘नाडा अटो शो २०२६’का संयोजक अनुप वरालले जानकारी दिए ।
‘अटो शो सुरु भएको पहिलो दिन एकदम राम्रो भयो, दोस्रो दिन देशमा ठूलो दुर्घटना घट्यो। त्यसले गर्दा अलिकति कम हुनु स्वाभाविक हो । किनभने प्रत्येक व्यक्तिको मन नै उजाडिएको बेला इभेन्टप्रति चासो हुँदैन नै ।
यसलाई स्वाभाविक पनि मान्नुपर्छ,’ संयोजक बरालले भने,‘यस्तो परिस्थितिमा हामीले पनि प्रायोरिटी सिफ्ट राहत संकलन, प्रभावित क्षेत्रमा कसरी सहयोग गर्न सकिन्छ भन्ने हिसाबले काम गर्यौं । टिम नै बाँडेर काम गरिरहेका छौं ।’
अटो शो को पहिलो दिन उल्लेख्य उपस्थिति रहेको, दोस्रो दिन कम भएको र तेस्रो दिन १२ बजेपछि फ्लो एकदमै राम्रो भएको छ । चौथो दिन पनि १ बजेपछि अवलोकनकर्ताहरुको उपस्थिति बढेको उनले जानकारी दिए ।
बाढी प्रभावित क्षेत्रमा नाडासँग आवद्ध सयौं कम्पनीका सवारी साधन तथा अटो सामग्रीहरु गुमेको, चालकहरु वेपत्ता भएको, ठूलो मात्रामा—स्पेयर पाट्र्सहरू आएका कन्टेनरहरू बेपत्ता भएको उनले जानकारी दिए ।
अटोमोबाइल क्षेत्रका लागि उत्तरतर्फको रसुवा नाका प्राथमिकता रहेको उल्लेख गर्दै उनले अब विकल्पहरु तत्काल खोज्न र सडकको पहिचान गरी ट्याक खोल्न पहल गर्नुपर्ने पनि बताए ।
अप्ठ्यारो परेको अवस्थामा पनि अर्थतन्त्र चलायमान गराउन सबै जुट्नुपर्ने बताउँदै बरालले सतर्कताका साथ अघि बढ्नुपर्ने पनि औंल्याए ।
‘यस्तो बेलामा अत्तालिएर होइन, गाली गरेर होइन, संयमित भएर सामूहिक रुपमा काम गर्नुपर्छ । घाइतेहरूको उद्धार, मृतकहरूको खोजी, डुबेका र हराएका बस्तुहरुको खोजी कार्य प्राथमिकतामा राख्नुपर्छ ।
व्यवसायीमा परेको मर्काका विषयमा पनि नाडाले गम्भीरताका साथ हेरेको छ,’ उनले भने ।
नाडा स्थापनाको ५० औं वर्ष पुगेको स्वर्ण जयन्तीको अवसरमा १८ औं संस्करणको यो अटो शो आयोजना गरिएको हो । शो भोलि १४ गते समापन हुँदैछ ।
For more: Rasuwa Flood Impacts NADA Auto Show 2026

