प्रेसिडेन्सियल इन्नोभिस्टा २.०: नेपाली प्रविधि विद्यार्थीले बनाए एआई, रोबोटिक्स र साइबर सुरक्षाका उत्कृष्ट परियोजना
११ असार, काठमाडौं ।
काठमाडौँमा प्रविधि र व्यवसायको क्षेत्रमा एउटा ठूलो उत्सव सुरु हुँदै छ। अमेरिकी वेस्टक्लिफ युनिभर्सिटी (Westcliff University) सँगको सम्बन्धनमा सञ्चालित प्रेसिडेन्सियल ग्राजुएट स्कुलले टेक एवं विजनेस कार्निभल ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.० (Presidential Innovista 2.0), २०२६’ आयोजना गर्न लागेको हो।
विद्यार्थीहरूमा रहेको नवप्रवर्तन, डिजिटल रचनात्मकता र भविष्यका प्राविधिक सीपहरूलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रदर्शनी असार ११ र १२ गतेसम्म चल्ने छ। आईटी र बिजनेसमा रुचि राख्ने युवा तथा प्लस टु सकेका विद्यार्थीहरूका लागि यो उत्सवमा प्रवेश निःशुल्क गरिएको छ।
५ प्राविधिक विधा र मुख्य आकर्षणहरू
यस वर्षको ‘प्रेसिडेन्सियल इन्नोभिस्टा २.०’ लाई मुख्य पाँच वटा प्राविधिक क्षेत्रमा विभाजन गरिएको छ:
-
कम्प्युटर भिजन र कृत्रिम बुद्धिमत्ता (AI)
-
आइओटी (IoT) र रोबोटिक्स
-
साइबर भिलेज
-
सफ्टवेयर
-
टेक्नोभर्सिटी
प्रदर्शनीमा बिएससी आईटी (BSc IT) का करिब १७० विद्यार्थीहरूले तयार पारेका ५५ भन्दा बढी व्यावहारिक परियोजनाहरू प्रदर्शन गरिँदै छन्। कलेजका कार्यकारी अध्यक्ष लक्ष्मण केसीका अनुसार यी परियोजनाहरूले प्राविधिक र व्यावसायिक दुवै सम्भावना बोकेका छन्।
प्रदर्शनीका मुख्य आकर्षणहरू:
एफ पिभ ड्रोन (FPV Drone): पुष्प वृष्टि गराउन सक्ने विशेष ड्रोन।
रोबो सकर्स (Robo Soccers): फुटबल खेल्न सक्ने रोबोट।
इमोसन डिटेक्सन सिस्टम (Emotion Detection AI): अनुहारको भावना पत्ता लगाएर सोही अनुसार संगीत सिफारिस गर्ने एआई प्रणाली।
स्मार्ट होम र सिँचाइ: ग्यास लिक हुँदा स्वचालित रूपमा अलार्म बज्ने र ग्यास कट गर्ने सुरक्षा प्रणाली।
३६० डिग्री क्यामेरा गाडी: रिमोटली नियन्त्रण गर्न सकिने स्वाचालित गाडी।
साइबर सुरक्षा र उद्यमशीलतालाई प्राथमिकता
अहिलेको डिजिटल युगमा बढ्दो अनलाइन ठगी, डाटा लिक र बैंक खाताको सुरक्षालाई सम्बोधन गर्ने गरी विद्यार्थीहरूले साइबर सुरक्षाका विशेष परियोजनाहरू पनि निर्माण गरेका छन्।
स्कुलको विजनेस इन्कुबेसन सेन्टर (Business Incubation Center) ले यी परियोजनाहरूलाई बजारमा लैजान र व्यावसायिक रूप दिन सहयोग गर्नेछ। आईटी र विजनेसका विद्यार्थीहरूको सहकार्यमा यी नवप्रवर्तनहरूलाई लगानीकर्ता माझ पुर्याइने छ। “नेपालमा पनि यस्ता विश्वस्तरीय नवप्रवर्तन सम्भव छन् भन्ने सन्देश दिनु हाम्रो मुख्य उद्देश्य हो,” कार्यकारी अध्यक्ष केसीले भन्नुभयो।
रोजगारी र अन्तर्राष्ट्रिय अवसर: ‘स्किल अप डिपार्टमेन्ट’
प्रेसिडेन्सियल ग्राजुएट स्कुलले रोजगारीका लागि सहजीकरण गर्न यसै वर्षदेखि ‘स्किल अप डिपार्टमेन्ट’ को सुरुवात गरेको छ। यस अन्तर्गत विभिन्न कर्पोरेट कम्पनीका मानव संसाधन (HR) म्यानेजरहरूलाई कलेजमै बोलाएर विद्यार्थीहरूलाई बजारको माग अनुसार तयार हुन प्रेरणा दिइन्छ।
स्कुलका निर्देशक तथा प्रिन्सिपल कल्पना गुरुङका अनुसार वेस्टक्लिफ युनिभर्सिटीको सहकार्यमा कलेजले क्रेडिट ट्रान्सफर (Credit Transfer) को सुविधा पनि दिएको छ, जसले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययन गर्ने बाटो खोल्छ।
कलेजले भविष्यमा पनि उद्योगी र लगानीकर्ताहरूलाई बोलाएर विद्यार्थीहरूलाई स्टार्टअप र रोजगारीको अवसर दिने योजना बनाएको छ।
For more: Presidential Innovista 2083


