नेपाल टेलिकमको नयाँ सुविधा: हराएको वा बिग्रेको सिमका लागि अब अनलाइनबाटै फारम भर्न सकिने
१ साउन, काठमाडौं।
पाल टेलिकमको सिमकार्ड (फिजिकल वा ई-सिम) हराएमा वा बिग्रेमा अब अनलाइनमार्फत आवश्यक विवरण भरेर सहज तरिकाले नयाँ सिम लिन सकिने भएको छ। नेपाल टेलिकमले आज (१ साउन) देखि यो सेवाको औपचारिक शुभारम्भ गरेको हो।
यसरी हराएको वा बिग्रेको सिमकार्डको सट्टामा नयाँ फिजिकल वा ई-सिम लिन चाहने सेवाग्राहीले नेपाल टेलिकमको आधिकारिक ई-सिम पोर्टल (esim.ntc.net.np) मा लगइन गर्नुपर्नेछ। पोर्टलमा गइसकेपछि त्यहाँ रहेको ‘Apply for Lost/Damaged SIM‘ मा क्लिक गरी दिइएको निर्देशन अनुसार रजिष्टर गरेर आफ्नो आवश्यक विवरण उपलब्ध गराउनुपर्ने बैंकले जनाएको छ।
सम्पूर्ण विवरण अनलाइनमा भरिसकेपछि ग्राहक स्वयं टेलिकमको काउन्टरमा उपस्थित भएर वा आफ्नो प्रतिनिधिमार्फत उक्त नयाँ सिमकार्ड लिन सक्नेछन्। यस सुविधामार्फत नयाँ सिम लिनका लागि आवश्यक ५० रुपैयाँ शुल्क काउन्टरमै बुझाउनुपर्नेछ।
यदि ग्राहक स्वयं उपस्थित हुन नसकेको खण्डमा काउन्टरमा आउने प्रतिनिधिको नाम समेत अनलाइन फारममै पहिल्यै उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ। सिम लिन आउने प्रतिनिधिले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात समेत अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ। ग्राहकको गोपनीयता र आवश्यक सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर यो कडा व्यवस्था गरिएको टेलिकमको भनाइ छ।
नेपाल टेलिकमले esim.ntc.net.np पोर्टलमा यो नयाँ सुविधा थप गरेसँगै अब यसै प्रणालीबाट ग्राहकले धेरै काम घरबाटै अगाडि बढाउन सक्नेछन्। हाल यस पोर्टल अन्तर्गत नयाँ प्रिपेड ई-सिम लिन, फिजिकल सिमलाई ई-सिममा रूपान्तरण गर्न, नयाँ फिजिकल सिम लिन र ग्राहक विवरण (KYC) अद्यावधिक गर्नका लागि आवश्यक केवाईसी पोर्टल समेत एकीकृत रूपमा उपलब्ध छ।
For More: Nepal Telecom Online SIM


