नर्भिक हस्पिटलको आईपीओ ‘रोड शो’ सम्पन्न: वैशाख २१ सम्म आशय पत्र बुझाउनुपर्ने
१४ वैशाख, काठमाडौं।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले आफ्नो साधारण सेयर (IPO) निष्कासनका लागि बुक-बिल्डिङ प्रक्रिया अन्तर्गतको ‘रोड शो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। वैशाख ११ गते नक्सालस्थित मेरियट होटलमा आयोजित उक्त कार्यक्रममा योग्य संस्थागत लगानीकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल (LS Capital) द्वारा आयोजित सो कार्यक्रममा हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले नर्भिकको वर्तमान वित्तीय अवस्था, कार्य सम्पादन र भविष्यका रणनीतिक विस्तार योजनाबारे विस्तृत जानकारी दिएका थिए। कार्यक्रममा संस्थागत लगानीकर्ताहरूले मूल्य निर्धारण र मूल्याङ्कन पद्धतिका विषयमा आफ्ना धारणा तथा सुझावहरू राखेका थिए।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले बुक-बिल्डिङको संरचना, नियामक प्रावधान र मूल्य खोजी प्रक्रियाबारे स्पष्ट पारेको थियो। सहभागी लगानीकर्ताहरूले नर्भिकको यो प्रक्रिया पारदर्शी र व्यावसायिक रहेको भन्दै सकारात्मक प्रतिक्रिया दिएका छन्। यससँगै नर्भिक नेपालको स्वास्थ्य क्षेत्रबाट बुक-बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने पहिलो अस्पताल बन्ने दिशामा अघि बढेको छ।
रोड शो सफलतापूर्वक सम्पन्न भएसँगै अबको प्रक्रिया अघि बढेको छ। योग्य संस्थागत लगानीकर्ताहरूले आफूले खरिद गर्न चाहेको सेयर संख्या र प्रस्तावित मूल्यसहितको आशय पत्र शिलबन्दी खाममा ५ कार्य दिनभित्र, अर्थात् २०८३ साल वैशाख २१ गते साँझ ५ बजेभित्र नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा बुझाउनुपर्ने व्यवस्था रहेको छ।
यस कार्यक्रमले नेपालको पुँजी बजारमा बुक-बिल्डिङ प्रणालीलाई थप सुदृढ बनाउन र बजार-आधारित मूल्य निर्धारण प्रक्रियालाई प्रोत्साहन गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
For More:-Norvic Hospital IPO Roadshow



