इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त
१२ असोज, काठमाडौं।
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नीरज शर्मा नियुक्त भएका छन्।
गत भाद्र ३० गते बसेको इसेवा सञ्चालक समितिको बैठकले असोज १२ गतेदेखि लागू हुने गरी शर्मालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनले आजैबाट आगामी चार वर्षको कार्यकाल सम्हालेका छन्।
बैंकिङ तथा वित्तीय क्षेत्रमा २५ वर्षभन्दा बढीको नेतृत्वदायी अनुभव सँगाल्नुभएका शर्मा ट्रान्जेक्सन बैंकिङ, कार्ड प्रणाली, डिजिटल रूपान्तरण र रिटेल बैंकिङमा पोख्त छन्।
डिजिटल नवप्रवर्तन, रणनीतिक वृद्धि तथा ग्राहक केन्द्रित सेवा विकासमा उत्कृष्ट क्षमता भएका शर्माको नेतृत्वले इसेवाको आगामी यात्रालाई थप सुदृढ बनाउने विश्वास सञ्चालक समितिले व्यक्त गरेको छ।
यसैबीच, इसेवाका निवर्तमान सीईओ जगदीश खड्काको चार वर्षे कार्यकाल सफलतापूर्वक पूरा भएको छ। वि.सं. २०७९ असोज १२ मा इसेवाको प्रमुख कार्यकारी अधिकृत बन्नुभएका खड्काको कार्यकालमा कम्पनीले फड्को मारेको छ।
उनको व्यवस्थापकीय नेतृत्वमा इसेवाका प्रयोगकर्ताको सङ्ख्या १ करोड ४० लाख र मर्चन्टको सङ्ख्या ६ लाख नाघेको छ। साथै, डिजिटल कर्जा सुविधा, फाइनान्स ३६०, इसेवा सर्कल, बिजनेस एप, इन्टेन्ट पे लगायत थुप्रै नवीन सेवाहरू भित्रिएका छन्। खड्काकै कार्यकालमा दृष्टिविहीन नागरिकका लागि ‘टकब्याक’ फिचर र सर्वसाधारणको सहजताका लागि नेपाली भाषामा एप सञ्चालनमा ल्याइएको थियो।
For More: Niraj Sharma eSewa CEO

