‘सिन्दुरे जात्रा’ मा मनछुने प्रेमकथा छ : सरल स्वभाव र जीवन्त अभिनयले नेपाली सिनेमामा नयाँ स्वाद दिएका विजय बराल
१२ मंसिर, काठमाडौं।
रङ्गमञ्चको सङ्घर्षदेखि ‘पूर्णबहादुरको सारङ्गी’ र ‘सिन्दुरे जात्रा’ सम्म : अभिनेता विजय बरालको प्रेरक कला यात्रा
सर्लाहीको लालबन्दीमा शिक्षकको नक्कल गर्दै रङ्गमञ्च र ‘कबड्डी’ को बिके हुँदै ‘पूर्णबहादुरको सारङ्गी’ बाट ऐतिहासिक सफलता चुमेका अभिनेता विजय बरालको कला यात्रा निकै प्रेरक छ। आगामी मङ्सिर १८ गते प्रदर्शन हुन लागेको पिरियड ड्रामा फिल्म ‘सिन्दुरे जात्रा’ मा ‘बाबुराम’ को भूमिकामा देखिन लागेका बरालसँग ३५–४० वर्षअघिको सामाजिक परिवेश, पात्र निर्माण र उनको सरल जीवनशैलीबारे गरिएको विशेष कुराकानी।
अभिनेता विजय बराल वि.स.२०८१ मा प्रदर्शन भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत लोकप्रियताको उच्च विन्दुमा पुग्न सफल भए । रङ्गमञ्च हुँदै फिल्ममा भित्रिएका अभिनेता बराललाई त्यसअगाडि ‘कबड्डी’ शृंखलाले बिकेका रुपमा दर्शक माँझ चिनायो । सहायक भूमिकाहरूमा भ्याइनभ्याइ व्यस्त भएका अभिनेता बरालको कला यात्रा ‘पूर्णबहादुरको सारंगी’ पश्चात बदलियो ।
घरेलु बजारको आकार बढाउने श्रेय प्राप्त गर्नुको कारण उनको केन्द्रीय भूमिका थियो । अभिनेता बरालले पूर्णबहादुर गन्दर्भको भूमिकामार्फत लाखौं दर्शकको मन जिते । सारङ्गी रेटेर जीविकोपार्जन गर्ने परिवारको पूर्णबहादुरले आफ्नो छोरालाई डाक्टर बनाउन गरेको सङ्घर्षले दर्शकको मन जित्यो ।
आफ्नो अभिनय क्षमतामार्फत सानै भूमिकामा भएपनि आफ्नो पहिचान स्थापित गरेका अभिनेता बरालले जीवनमा केहि गर्नसकेको महसुस गर्ने गरेका छन् । ‘पूर्ण बहादुरको सारङ्गी’ पछि उनलाई समाजले हेर्ने शैलीमा परिवर्तन आएको छ । आफ्नो नामले परिवारको प्रतिष्ठालाई समाजमा उच्च गरेपछि उनलाई केही उपलब्धी प्राप्त गरे भन्ने आभाष भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिकामा जन्मिएर काठमाडौँमा नाट्यकर्मी हुँदै फिल्ममा अभिनेता बनेका बरालले आफ्नो कला यात्रामा प्राप्त गर्ने उच्चतम सफलता प्राप्त गरिसकेका छन् ।
‘पूर्णबहादुरको सफलता पश्चात निश्चित रुपमा मेरा लागि समय फेरिएको छ । मलाई मुख्य भूमिका नै अफर हुन् थालेका छन् । यद्यपि, मेरा लागि मेरो पात्रहरू विशेष छन्, म मुख्य वा सहायक भन्दा पनि आफ्नो पात्रलाई ध्यान दिन्छु’, उनले भने ।
कक्षा ८ मै पढ्ने समयमा ‘ढोका खोल पोष्टे कि आमा, ढोका खोल न हो’ बोलको गीतले आकर्षित भएका अभिनेता बरालले उक्त गीतको सर्जक लालबन्दीकै गायक नारद खतिवडा रहेको थाहा पाएँपछि गीतसङ्गीत र हास्य प्रस्तुतीलाई पछ्याउन थाले । उनले नजिकका साथीहरूसामु विद्यालयका शिक्षकहरुको हाउभाउ, बोलचाल र शिक्षण शैलीको पनि नक्कल गरेर देखाउँथे । साथीहरूबाट प्राप्त हौसलाबाट उत्साहित उनले विस्तारै विभिन्न कलाकारको नक्कल गरेर आवाज निकाल्न (क्यारिकेचर) गर्न थाले ।
‘पहिलोपटक आफ्नो क्षमता सार्वजनिकरुपमा एउटा कार्यक्रममा म मञ्चमा प्रस्तुत भए । त्यहाँ मैंले विभिन्न नेताहरुको आवाजहरूको नक्कलसँगै ‘जलखैको पोको बोकेर’ बोलको गीतमा हास्यप्रधान नृत्य प्रस्तुत गरे । त्यसलाई सबैले रुचाउनुभयो । त्यसपछि म प्राय संस्कृति कार्यक्रममा प्रस्तुत हुन् थालें । त्यहिंबाट अभिनय गर्ने रहर म भित्र सिर्जित भएको जस्तो लाग्छ’, उनले भने ।
साथीहरूले व्यवसायिक कलाकारिता आरम्भ गर्न दिएको सुझावले उनलाई काठमाडौँ ल्यायो । ‘जोगिन्दर’ र ‘पानवाला’ को उपनामले चर्चामा आइसकेका कलाकार शिवशंकर रिजालले अभिनेता बराललाई आफ्ना ‘गाईजात्रा’ का लागि तयार गरिने प्रहसन र ‘प्यारोडी’ मा स्थान दिए । उनले ‘जुनियर आर्टिस्ट’ भएर काम पनि गरे ।
तर, उनको लक्ष्य सामान्य कमेडी नभई अभिनय बुझ्नु थियो । सोही क्रममा उनले पाटनको यलमाया केन्द्रमा भारतको दिल्लीस्थित विख्यात नेशनल स्कुल अफ ड्रामा (एनएसडी)को तर्फबाट सञ्चालन हुने नाटक सम्बन्धी तालिमको लागि निवेदन दिए । रङ्गकर्मी एमके रैनासँग ४५ दिनसम्म सञ्चालित उक्त तालिमको समापनसँगै उनले आफूमा फरक महसुस गरे ।
उनी नाट्यकर्मी राजन खतिवडामार्फत मण्डला नाटक घरमा जोडिए । यो यात्रा अझैसम्म निरन्तर छ । उनीसहितको टिम फिल्ममा व्यस्त भएता नाटकलाई उत्तिकै महत्व दिन्छन । किनकि फिल्ममार्फत गरेको आर्जनको केहि हिस्सा उनीहरूले नाटक घरमै लगाउने गरेका छन् ।
‘मण्डलाले मञ्चन गरेको ‘चरण दास चोर’ नामक नाटकमा अवसर पाएँ । अभिनेता दयाहाङ राई फिल्मको काममा व्यस्त हुनुभएपछि त्यहाँ अवसर पाएको थिएँ । पाएको मौकालाई सदुपयोग गर्न निकै मेहनत गरें । फलतः उक्त नाटक मञ्चन भएपछि मेरो अभिनय क्षमता धेरै जनासम्म पुग्यो । सबैले मेरो काम मन पराउँदा आगामी दिनमा सहजै अवसर प्राप्त गर्ने माहोल बन्दै थियो । मैले देखेको सपनाले विस्तारै मुर्तरुप लिँदै थियो’, उनले भने ।
नाटकमा काम गर्ने क्रममै ‘छड्के’ फिल्ममा अभिनेता बराललाई अभिनय गर्ने प्रस्ताव भयो । निर्देशक मीनबहादुर भामलाई ‘अडिसन’ दिएपछि उनले सानो भूमिका गर्ने मौका पाए । तर, उनका लागि त्यो खास थियो । किनकि वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलसँग उनले अभिनय गर्ने मौका पाएका थिए ।
त्यसपछि उनले ‘कबड्डी’ मा ‘बिके’ नामक पात्रलाई निर्वाह गर्ने मौका पाए । त्यसपछि उनको व्यस्तता फिल्ममा बढ्यो, र ‘पूर्णबहादुरको सारङ्गी’ ले नयाँ उचाई दियो ।
‘पहिलेको बुझाइ बोल्नु मात्र अभिनय थियो । तर, अहिले मैंले बोलेको वा अभिव्यक्त गरेको कुरा दर्शकको मनमा पुग्छ, उहाँ जोडिनु हुन्छ भने त्यो नै अभिनय हो जस्तो लाग्छ । अभिनय भनेको परिपक्वता पनि हो’, उनले भने ।
उनले शिर्ष भूमिका निर्वाह गरेको फिल्मले सर्वाधिक कमाउने फिल्मको नाममा रेकर्ड बनाएता पनि अभिनेता बराल सरल छन् । त्यस्तो त रङ्गकर्मीको पहिचान नै सरला हो ।
‘हामी नाट्यकर्मी स्वभावले नै सरल हुने गर्छौँ । मण्डला नाटक घरमा अन्य सफल एकसे एक कलाकार हुनुहुन्छ । अभिनेता दयाहाङ राईले पाउनु भएको सफलता र उहाँले प्रस्तुत गर्ने सरलताले मलाई भ्रम थपेन । मंैले कसका लागि दम्भ देखाउनु ? म भन्दा लोकप्रिय कलाकारको सरलताले मलाई सतही राखिरह्यो’, उनले भने ।
उनले पाएको सफलतालाई त्यसपछिका पात्रमा हावी हुन् दिएनन् । त्यसैले उनले मुख्य भूमिका पाउँदा पाउँदै पनि ‘जारी’ को मंगल सिंह र ‘कबड्डी’ को बिकेलाई छाडेनन् । ‘पूर्णबहादुरको सारङ्गी’ को पूर्णबहादुर, ‘दिमाग खराब’ को बले पात्र उनलाई प्रिय लाग्छ, किनकि ती पात्रले अभिनेता बराललाई पनि केही सिकाएका छन् ।
‘ती पात्रहरूले मलाई केहि नकेही दिएका छन् । सांस्कृतिक, भौगोलिकसँगै भिन्न समाजसँग परिचित गराएका छन् । त्यसकारण म त्यस्ता पात्रलाई आफ्नो नजिक ठान्छु’, उनले भने ।
उनले ‘पूर्णबहादुरकै सारङ्गी’ को निर्देशक सरोज पौडेल र को–स्टारहरू अन्जना बराइली, विनोद न्यौपानेलगायतसँग उनले सहकार्य गरेको फिल्म ‘सिन्दुरे जात्रा’ आगामी मङ्सिर १८ मा प्रदर्शन हुँदैछ । फिल्मको सार्वजनिक ट्रेलर र गीतसङ्गीतले चर्चा पाइसकेको छ । ‘पूर्णबहादुरकै सारंगी’ को टिमबाट आएको नयाँ फिल्म भएकाले पनि अपेक्षा बढ्नु स्वाभाविक हो ।
‘अपेक्षा बढ्नु स्वाभाविक नै हो, हामीले त्यही अनुसार मेहेनत पनि गरेका छन् । व्यवसायिक पाटोबारे केही भन्न नसकीएला तर मनछुने सामाजिक फिल्म बनाएका छौँ । यसले आज भन्दा ३५÷४० वर्ष अगाडिको समयमा लैजानेसँगै हामीलाई त्यसबेलाको समाजसँग परिचित गराउँछ’, उनले भने ।
उनले फिल्म ‘सिन्दुरे जात्रा’ लाई सिन्दुरको जात्राको रुपमा ब्याख्या गरे । ‘श्रीमानको माया गर्ने मान्छेले सिन्दुर हाल्दै गर्दा प्रेम र ढोका बीचको सङ्घर्षबाट उत्पन्न भएको कथा फिल्ममा देखाइएको छ । यहाँ त्याग, समर्पण, माया सबै छ । यसको कथा ठूलो भएकाले पनि यसलाई जात्रा वा उत्सवको रुपमा इङ्गित गरेका छौँ’, उनले भने ।
उनले आफ्नो पात्रले उक्त समयलाई मज्जाले चित्रण गरेको बताए । आफ्नो पात्रलाई जीवन्त बनाउनले आफ्नो पात्र निर्माणमा मेहनत गरे । उनी फिल्ममार्फत नयाँ पुस्ता आज भन्दा ३० वर्ष भन्दा अगाडिको समय र परिवेशलाई बुझ्ने मौका दिने बताए ।
‘पिरियड ड्रामा’ जनरामा निर्माण भएको फिल्मले तत्कालीन नेपाली समाजमा पुरुषको अहंकार र पितृसत्तात्मक सोचका कारण महिलाले भोग्नुपरेको अवस्था र त्यसका परिणामलाई चित्रण गरेको देखिन्छ ।
फिल्ममा अभिनेता विनोद न्यौपानेको ‘डिल्लीराम’ पात्र प्रेमकथाको प्रमुख बाधकका रूपमा देखिएका छन् ।
विजय बरालले ‘बाबुराम’ र अञ्जना बराइलीले ‘लक्ष्मी’को भूमिका निर्वाह गरेका छन् । यी दुई पात्रको प्रेममा डिल्लीरामले सिर्जना गर्ने अवरोधले कथालाई कस्तो मोडमा पु¥याउँछ भन्ने कौतूहलता ट्रेलरले जगाएको छ ।
फिल्ममा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राज कटुवाल, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।
For more: Sindure Jatra Features Heart-Touching Love Story



