‘एनआईसी एसिया ’ र ‘खल्ती’बीच डिजिटल भुक्तानी सम्झौता

०१ फाल्गुन २०७६, काठमाडौं ।

एनआईसी एसिया बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । एनआईसी एसिया बैंकका तर्फबाट सीईओ रोशन कुमार न्यौपाने र खल्तीका तर्फबाट डाइरेक्टर अरविन्द साहले बैंकको थापाथली स्थित प्रधान कार्यालयमा आयोजित हस्ताक्षर समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

यस सम्झौता अनुसार अब एनआईसी एसिया बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र ‘खल्ती’ को प्लाटफर्ममा उपलब्ध सबै प्रकारका सेवाहरुको डिजिटल भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

उक्त सम्झौताको बारेमा बोल्दै खल्तीका डाइरेक्टर अरविन्द साहले भन्नुभयो, “हामी एनआईसी एसिया बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ । अब एनआईसी एसिया बैंकका ग्राहकहरुले बैंकबाट नगद झिकि राख्ने झन्झट गर्नुपर्दैन । उहाँहरुले बैंकबाट सिधै ‘खल्ती’मा पैसा लोड गरी वस्तु तथा सेवाको डिजिटल भुक्तानी गर्न सक्नुहुनेछ । नगद पैसा बिनाको सरल भुक्तानीको यो एउटा सुरुवात हो । यस सहकार्य सँगै हामीले नगद पैसा बिनाको नेपालको लागि एउटा अर्को पाइला अगाडी सारेका छौँ जस्तो लागेको छ ।”

त्यसै गरी एनआईसी एसिया बैंकका सीईओ रोशन कुमार न्यौपानेले भन्नुभयो, “हामी प्रविधिको प्रयोग गरेर मानिसहरुका विभिन्न बैंकिङ्ग तथा वित्तिय समस्याहरु समाधान गर्न खोजि राखेका छौँ, जसको माध्यम बाट ग्राहकहरुले मोबाईल बाटै सबै किसिमका सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ । हामी खल्ती वालेटसँग सहकार्य गरी हाम्रा ग्राहकहरुमाझ खल्तीको सजिलो मोबाईल भुक्तानी सेवा उपलब्ध गराउन पाउँदा अत्यन्तै उत्साहित भएका छौँ । यसबाट हामी दैनिक कारोबारलाई डिजिटल बनाउन एक कदम अगाडि बढेको महसुस गरेका छौँ ।”

एनआईसी एसिया बैंक मुलुकभर हालतीन सय १३ शाखा कार्यालयहरु, चार सय ३० एटीएम, एक सय चार वटा वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ मार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ। २१ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको बैंकको प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साह प्रद रहेका छन्। एनआईसी एसियाले बैंक पनि, साथीपनि, राम्रो पनि, हाम्रो पनिमूल नारा सहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको छ।

त्यस्तै, सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमती प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदिगर्ने, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोग कर्ताहरुको संख्या १० लाखभन्दा बढि रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here