पुँजी बजारमा गिरावट: नेप्से १६.४७ अंकले घट्दा कारोबार रकम ५ अर्ब ३८ करोडमा सीमित
१२ असोज, काठमाडौं।
नेपाली शेयर बजारमा आज पनि गिरावटले निरन्तरता पाएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज परिसूचक १६ दशमलव ४७ अंकले घटेर २,६१३ दशमलव ३३ को विन्दुमा कायम भएको छ । बजार राताम्य हुँदा कारोबारमा आएका अधिकांश कम्पनीका लगानीकर्ताले घाटा व्यहोर्नुपरेको छ ।
आज दिनभरिमा ३५७ वटा कम्पनीको १ करोड ३१ लाख ७८ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा ५० वटा कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने २२३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, ६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । उपसूचकगत रूपमा हेर्दा आज व्यापार समूहबाहेक अन्य सबै समूहका उपसूचकहरू राताम्य भएका छन् ।
आजको कारोबारमा हिमालयन डिष्टिलरीको सर्वाधिक ३५ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यसैगरी, शिवम् सिमेन्टको २९ करोड ७८ लाख र हाथवे इन्भेष्टमेन्टको १९ करोड ९८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कमाउने तर्फ लक्ष्मी सनराइज डिबेञ्चरका इकाईधनीले १५ प्रतिशतका दरले सर्वाधिक आम्दानी गरेका छन् भने हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले १० दशमलव ५८ प्रतिशतका दरले सबैभन्दा धेरै गुमाएका छन् ।
नीतिगत सुधारका प्रयासहरू भए पनि लगानीकर्ताको खस्किएको मनोविज्ञान र दशैं नजिकिँदै जाँदाको मनोवैज्ञानिक बिक्री दबाबका कारण बजारले गति लिन सकिरहेको छैन । अर्थ मन्त्रालय र नियामक निकायले विभिन्न सुधारका प्याकेज ल्याए तापनि बजारमा पर्याप्त माग सिर्जना हुन सकेको छैन ।
चाडपर्वका लागि नगद व्यवस्थापन गर्न लगानीकर्ताले शेयर बिक्री गर्न थाल्नु र लगानीको स्रोतसम्बन्धी विभिन्न जिज्ञासाका कारण ठूला लगानीकर्ताहरू खुल्न हिचकिचाउँदा बजार लगातार दबाबमा परेको विश्लेषकहरूको बुझाइ छ ।
For More: NEPSE Drops Capital Market

