खाडी मुलुकका लागि श्रम स्वीकृति पुनः खुला
७ वैशाख, काठमाण्डौ।
सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडी तथा अन्य विभिन्न पश्चिम एसियाली मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुनः सुचारु गर्ने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै यसअघि सुरक्षा संवेदनशीलताको कारण देखाउँदै लगाइएको अस्थायी प्रतिबन्ध हटाएको हो।
मन्त्रालयका अनुसार अब साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, जोर्डन, लेबनन, टर्की, इजरायल, इराक र यमनका लागि सबै प्रकारका श्रम स्वीकृति खुला गरिएको छ। यसमा व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरण (Legitimization) का प्रक्रियाहरू पूर्ववत रूपमै सुचारु हुनेछन्।
परराष्ट्र मन्त्री शिशिर खनालका अनुसार परराष्ट्र मन्त्रालयको सिफारिस र पश्चिम एसियाको सुरक्षा अवस्थाको पछिल्लो मूल्याङ्कन पछि यो कदम चालिएको हो। यसअघि इरान युद्ध र पश्चिम एसियाली क्षेत्रमा उत्पन्न अस्थिर परिस्थितिलाई मध्यनजर गर्दै सरकारले फागुन १७ गतेदेखि ती मुलुकहरूमा वैदेशिक रोजगारीमा जान अस्थायी रूपमा रोक लगाएको थियो।
वैदेशिक रोजगार विभागले आजैदेखि लागू हुने गरी विभागका सबै कार्यालयहरूलाई श्रम स्वीकृति जारी गर्न निर्देशन दिइसकेको छ। यस निर्णयसँगै लामो समयदेखि श्रम स्वीकृतिको पर्खाइमा रहेका हजारौँ नेपाली श्रमिकहरू लाभान्वित हुने भएका छन्।
For More:-Nepal Labor Permit Reopened



