नेपालमै छापिने स्मार्ट लाइसेन्समा ‘बौद्धिक क्यू.आर.’ प्रविधि: इन्टरनेटबिना नै हुनेछ प्रमाणीकरण
७ वैशाख, काठमाण्डौ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ भइरहेको नयाँ ‘स्मार्ट’ सवारीचालक अनुमतिपत्रका सम्बन्धमा विस्तृत जानकारी सार्वजनिक गर्दै यसलाई हालसम्मकै सुरक्षित र अत्याधुनिक भएको दाबी गरेको छ।
नयाँ अनुमतिपत्र अन्तर्राष्ट्रिय स्तरको ISO 7810 ID-1 गुणस्तरमा आधारित रहेको र यसमा ३९ वटा फरक-फरक सुरक्षण विशेषताहरू समावेश गरिएको मन्त्रालयले जनाएको छ।
विगतमा प्रयोग गरिएको ‘स्मार्ट चिप’ प्रविधि कार्ड रिडर र आवश्यक पूर्वाधारको अभावमा प्रभावकारी हुन नसकेको र विदेशी विशेषज्ञमा निर्भर हुनुपरेको जोखिमलाई मध्यनजर गर्दै अहिले उच्च सुरक्षासहितको ‘बौद्धिक क्यू.आर.’ (I-QR) प्रविधि अवलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।
यो प्रविधिले गर्दा अब ट्राफिक प्रहरी वा नियामक निकायले इन्टरनेटको पहुँच नभएको स्थानमा पनि अफलाइन माध्यमबाटै सवारीचालकको पहिचान र आधिकारिकता तत्कालै पुष्टि गर्न सक्नेछन्।
सुरक्षाका दृष्टिकोणले यस कार्डलाई तीन तहमा वर्गीकरण गरिएको छ, जसमा साधारण आँखाले देख्न सकिने मेटालिक सिल्भर इंकदेखि लिएर प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने ‘डिजिटल फिंगरप्रिन्ट’ र ‘रसायनिक हस्ताक्षर’ सम्म समावेश छन्। सम्पूर्ण उत्पादन प्रक्रिया ‘इन्ड-टु-इन्ड अफलाइन’ ढाँचामा रहेकाले व्यक्तिगत विवरण र डेटा सुरक्षामा कुनै सम्झौता नहुने सरकारको भनाइ छ।
यस पहलले नेपाललाई सुरक्षण मुद्रणमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण सहयोग पुग्ने र विदेशी मुद्राको बहिर्गमन समेत रोकिने विश्वास लिइएको छ।
सरकारले आगामी दिनमा यही संयन्त्रबाट हुलाक टिकट, नागरिकता, अन्तःशुल्क स्टिकर र भिसा स्टिकर समेत स्वदेशमै छपाइ गर्ने रणनीतिक योजना अघि सारेको छ।
For More:-Nepal Smart License QR



