एनसेलको नाममा सामाजिक सञ्जालमा ठगी: भ्रममा नपर्न आग्रह, अकाउन्ट ह्याक हुने जोखिम
१ असार, काठमाडौं।
दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडको नाम र लोगो दुरुपयोग गरी सामाजिक सञ्जालमा नयाँखाले डिजिटल ठगी (स्क्याम) भइरहेको पाइएको छ।
कम्पनीको वार्षिकोत्सवको बहाना बनाएर ‘नगद रकम जित्ने मौका’ भन्दै स्क्यामरहरूले फेसबुक पेज र विभिन्न लिंकमार्फत प्रयोगकर्ताहरूलाई प्रलोभनमा पारिरहेका छन्।
यस विषयमा एक विशेष सूचना जारी गर्दै एनसेलले आफ्ना ग्राहकहरूलाई सजग रहन र त्यस्ता भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरेको छ। स्क्यामरहरूले विश्वास दिलाउनका लागि एनसेलको आधिकारिक लोगो, नाम र भ्रामक पोस्ट, स्क्रिनसट तथा कमेन्टहरू व्यापक रूपमा प्रचार-प्रसार गरिरहेको कम्पनीले जनाएको छ।
एनसेलले जारी गरेको सूचनामा भनिएको छ, “यस प्रकारका अनाधिकृत रूपमा सञ्चालित पेज, लिङ्क वा वेबसाइटका झुटा प्रचारमा विश्वास गर्दा आफ्नो व्यक्तिगत विवरण चोरी हुने, अकाउन्ट ह्याक हुने जस्ता जोखिम रहन्छन्।”
कम्पनीले आफूले वार्षिकोत्सवको नाममा यस्तो कुनै पनि प्रकारको नगद उपहार योजना सञ्चालन नगरेको स्पष्ट पारेको छ। साथै, सामाजिक सञ्जालमा देखिने अपरिचित लिंकहरूमा क्लिक गरेर आफ्नो संवेदनशील व्यक्तिगत विवरणहरू सेयर नगर्न समेत बुझाएको छ।
कुनै पनि अफर वा पुरस्कारबारे जानकारी लिनु परेमा केवल कम्पनीको आधिकारिक वेबसाइट तथा भेरिफाइड सामाजिक सञ्जाल पेजमा उपलब्ध सूचनालाई मात्र विश्वास गर्न एनसेलले उपभोक्ताहरूलाई अनुरोध गरेको छ।
For More:-Ncell Social Media Scam


