मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आग्रह
११ असोज, काठमाडौं।
लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थानमा पहिरो खस्नुका साथै सडक भासिँदा आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । ठाउँ–ठाउँमा ठूला ढुङ्गा, रुख र लेदोसहितको पहिरो खसेपछि यो खण्ड भएर गुड्ने सवारीसाधन पूर्णरुपमा बन्द भएको हो ।
विशेष गरी कृष्णभीर, ज्यामिरेघाटको चौकीभीर, घोप्टेभीर र सिमलधारा क्षेत्रमा खसेको ठूलो पहिरोका कारण सडक दुईतर्फी नै ठप्प बनेको छ । फिस्लिङ क्षेत्रका तीन फरक–फरक ठाउँमा करिब २०० मिटर सडक पहिरोले ढाकेको छ भने त्यहाँको आधा भाग करिब ३० मिटर चर्किएर दबिएको छ ।
यसैगरी शीलतबजार, गोमति खोला, चुम्लिङटार र धारापानी खण्डमा पनि पहिरो र सडक भासिने समस्या देखिएको छ । धारापानीमा कल्भर्ट खुलाएर तथा शीलतबजारमा लेदो पन्छाएर एकतर्फी सवारी चलाउने प्रयास गरिए पनि हुग्दी खोलादेखि जवाङ खोलासम्म आधा दर्जन बढी स्थानमा निरन्तर पहिरो खसिरहेकाले आवागमन निकै जोखिमपूर्ण बनेको छ ।
सडक आयोजना र सुरक्षा निकायका अनुसार झरी नरोकिएकाले तत्काल काम गर्न कठिनाइ भइरहेको छ । वर्षा रोकिनासाथ सबै स्थानमा हेभी इक्विपमेन्ट परिचालन गरी पहिरो पन्छाउने तयारी गरिएको छ । बाटो पूर्ण रूपमा नखुलेसम्म यस खण्डमा अत्यावश्यक बाहेकको यात्रा नगर्न र सतर्क रहन प्रशासनले अनुरोध गरेको छ ।
For More: Malekhu Mugling Road Section

