बुटवलमा लुम्बिनी टेक इनोभेसन सेन्टरको औपचारिक उद्घाटन: टेकपाइला इनोभेसन्ससँग बन्यो विशेष B2C पार्टनर
१५ असार, काठमाडौं ।
लुम्बिनी क्षेत्रलाई आधुनिक डिजिटल केन्द्रका रूपमा विकास गर्ने उद्देश्यका साथ बुटवलको सिद्धार्थ कटेजमा आयोजित एक विशेष समारोहका बीच लुम्बिनी टेक इनोभेसन सेन्टर (LTIC) को औपचारिक उद्घाटन गरिएको छ।
यो सेन्टर प्रविधि क्षेत्रको प्रतिष्ठित संस्था टेकपाइला इनोभेसन्स (TechPaaila Innovations) को विशेष B2C पार्टनरको रूपमा बजारमा आएको हो।
कार्यक्रम लुम्बिनी टेक इनोभेसन सेन्टरका संस्थापक अध्यक्ष धन बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा लुम्बिनी क्षेत्रलाई ‘ग्लोबल टेक हब’ (Global Tech Hub) बनाउने दीर्घकालीन सोचसहित आर्टिफिसियल इन्टेलिजेन्स (AI), साइबर सुरक्षा (Cybersecurity) र डाटा साइन्स (Data Science) कोर्सहरूको मार्गचित्र प्रस्तुत गरिएको थियो।
यस सेन्टरले उच्चस्तरीय सफ्टवेयर विकास, मोबाइल एप विकास, साइबर सुरक्षा परामर्श, डाटा सुरक्षा (Data Protections) का साथै आईटी इन्कुबेसन सेन्टर र स्टार्टअप इकोसिस्टम प्रवर्द्धन गर्ने सेवाहरू समेत प्रदान गर्नेछ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्स बुटवल, रुपन्देहीका कार्यवाहक महासचिव शिव ज्ञवालीले लुम्बिनी टेक इनोभेसन सेन्टर र यसका संस्थापक अध्यक्षको दूरदर्शी सोचको प्रशंसा गर्नुभयो। उहाँले स्थानीय युवाहरूलाई आधुनिक प्रविधिको सीप सिकाएर आत्मनिर्भर बनाउने यो अभियान समग्र अर्थतन्त्रका लागि सुखद रहेको बताउनुभयो।
साझेदारीलाई औपचारिकता दिँदै टेकपाइलाका एसोसिएट डाइरेक्टर एवं विशिष्ट अतिथि चिरञ्जीवी अधिकारीले लुम्बिनी टेक इनोभेसन सेन्टरलाई आधिकारिक ‘B2C पार्टनर सर्टिफिकेट’ हस्तान्तरण गर्नुभयो।
उहाँले यस सहकार्यमार्फत टेकपाइला इनोभेसन्सको बुटवल र वरपरका क्षेत्रमा प्रविधि विस्तार गर्ने सपना अब यथार्थमा परिणत हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै वेष्टर्न मेगा कलेजका प्रिन्सिपल किशु शर्माले दुबईको आकर्षक अन्तर्राष्ट्रिय जागिर छोडेर आफ्नै गृहजिल्लामा भुइँतहदेखि प्रविधिको विकास गर्न फर्किएका सेन्टरका अध्यक्ष धन बहादुर रानाको त्याग र लगावको उच्च प्रशंसा गर्नुभयो। त्यस्तै, आईसीटी (ICT) की सिनियर फ्याकल्टी अस्मिता सेढाईंले यस क्षेत्रमा ‘सफ्टवेयर हब’ को अवधारणा ल्याइनु सरहानीय कार्य भएको उल्लेख गर्नुभयो।
क्यान महासंघ (CAN Federation) का सचिव नारायण श्रेष्ठ, क्यान महासंघका केन्द्रीय कार्यसमिति सदस्य धु्रब राज फुयाँल (सुदीप शर्मा) र क्यान महासंघ रुपन्देही शाखाका अध्यक्ष जीवन अधिकारीले रुपन्देही जिल्ला र समग्र लुम्बिनी क्षेत्रका स्थानीय प्रतिभाहरूलाई समेटेर आईटी परामर्श र सेवा प्रवाह गर्ने यस कदमको स्वागत गर्दै पूर्ण सफलताको शुभकामना दिनुभयो।
भव्य रूपमा सम्पन्न उक्त उद्घाटन समारोहमा स्थानीय नीति निर्माता, सूचना प्रविधि विज्ञ, उद्योगी व्यवसायी, शैक्षिक व्यक्तित्व तथा प्रविधिप्रेमी ‘जेन जी’ (GenZ) युवाहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
For more: Lumbini Tech Innovation Center Officially Launches


