कम्पनी र उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मा, उद्योग मन्त्रालयले ल्यायो ड्यासबोर्ड
१५ असार, काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्वसाधारणलाई मन्त्रालयको कामकारबाही र तथ्याङ्कबारे सहज जानकारी दिने उद्देश्यले नयाँ डिजिटल ड्यासबोर्ड सञ्चालनमा ल्याएको छ। उद्योग तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवको विशेष सक्रियतामा यो ड्यासबोर्ड सञ्चालनमा ल्याइएको हो।
यो नयाँ व्यवस्थासँगै अब नेपालमा दैनिक रूपमा हुने कम्पनी दर्ता, उद्योग दर्ता तथा व्यावसायिक फर्म दर्तासम्बन्धी सम्पूर्ण विवरणहरू रियल टाइम (तत्काल) मै ड्यासबोर्डमा अद्यावधिक (अपडेट) हुने मन्त्रालयले जनाएको छ।
यसअघि नेपालमा हालसम्म कति उद्योग तथा कम्पनीहरू दर्ता भएर सञ्चालनमा छन् भन्ने आधिकारिक र अद्यावधिक जानकारी पाउन सर्वसाधारणका लागि निकै कठिन र झन्झटिलो हुने गरेको थियो। ड्यासबोर्डको सुरुवात भएसँगै यो समस्या हटेको छ भने प्रशासनिक पारदर्शीता समेत बढ्ने विश्वास गरिएको छ।
मन्त्रालयका अनुसार हाल मन्त्रालयको कार्यालयमै राखिएको यो ड्यासबोर्डमा पहिलो चरणमा उद्योग विभाग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, र कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना प्रविधि प्रणालीहरूलाई एकीकृत गरिएको छ। यी निकायहरूका तथ्याङ्कलाई एपीआई (Application Programming Interface – API) मार्फत जोडिएको हुनाले विवरणहरू तुरुन्तै प्रणालीमा देखिनेछन्।
त्यस्तै, हालसम्म आफ्नै डिजिटल प्रणाली नभएका अन्य मातहतका निकायहरूको विवरणलाई पनि ‘डाइनामिक फर्म’ को माध्यमबाट ड्यासबोर्डमा समेट्ने व्यवस्था मिलाइएको छ।
मन्त्रालयले यस प्रणालीलाई थप परिष्कृत र विस्तार गर्दै लैजाने योजना बनाएको छ। आगामी आर्थिक वर्षदेखि प्रदेशस्तरमा हुने उद्योग तथा फर्म दर्ताका विवरणहरूलाई समेत यसै ड्यासबोर्डमा समावेश गरिने मन्त्रालयको तयारी छ।
For More:-Real Time Registration Dashboard


