सातै प्रदेशमा खानेपानी बिलको भुक्तानी खल्तीबाटै

Khanepani Bill Payment Online Water Bill Payment in Nepal
Share It On:

 १६ फागुन २०७६, काठमाडौं ।

डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गरेको छ । खल्तीले यस हप्ता मात्रै २६ जिल्लाका ८३ वटा खानेपानी वितरण समिति तथा उपभोक्ता समूह माझ सेवा विस्तार गरी आफ्नो खानेपानी बिल भुक्तानी सेवा सातै वटा प्रदेशमा पुर्याएको हो ।

अब पूर्वमा झापाको बुधबारे देखि पश्चिममा कञ्चनपुरको बेलौरी सम्मका ३८ जिल्लाका ११३ खानेपानी वितरण संस्था तथा उपभोक्ता समितिको बिल खल्ती बाटै तिर्न सकिनेछ ।

अब ती ठाउँका बासिन्दाहरुले काउन्टरसम्म पुगी लाईन बसेर बिल तिर्ने झन्झट गर्नुपर्ने छैन । उनीहरुले खल्ती एप तथा वेबसाईटमा रहेको खानेपानीको आईकनमा क्लिक गरी आफ्नो काउन्टर छानेर ग्राहक कोड दाखिला गरी १ मिनेटमै खानेपानीको महशुल भुक्तानी गर्न सक्नेछन् । साथै, डिजिटल प्रविधिसँग अभ्यस्त भैनसकेका र स्मार्टफोन नचलाउने उपभोक्ताले आफ्नो नजिकैको खल्ती पसलमा गई सजिलै बिल तिर्न सक्नेछन् । डिजिटल भुक्तानी सेवा प्रयोग गर्दा उपभोक्ताको खानेपानी बिल तिर्न काउन्टरसम्म आउजाउ गर्दा लाग्ने समय तथा पैसा बचत हुनेछ ।

खानेपानीको बिल भुक्तानी सेवा विस्तारका बारेमा बोल्दै खल्तीका मर्चेन्ट एक्विजिसन हेड सचिन उदासले भन्नुभयो, “खल्तीको टिम आफ्नो स्थापनाको सुरुवात देखि नै डिजिटल भुक्तानी प्रविधि मार्फत मानिसको जीवन शैली सहज बनाउनका लागि अनवरत रुपमा क्रियाशील छ । यसरी सातै वटा प्रदेशमा खानेपानी बिल भुक्तानी सेवा विस्तार गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ । अहिले हामी ३८ जिल्लाका विभिन्न ११३ खानेपानी वितरण संस्थाको बिल भुक्तानी गर्न मिल्ने बनाएका छौँ । हाम्रो लक्ष्य ७७ वटै जिल्लाका सम्पूर्ण खानेपानी वितरण समिति तथा उपभोक्ता समूहमा घर बसी बसी बिल तिर्न मिल्ने सुविधा विस्तार गर्नु हो । हामी यस लक्ष्य पूरा नहुन्जेलसम्म प्रयत्नशील भएर लागि पर्नेछौँ ।”

अहिले गाउँगाउँमा तीब्र गतिको ब्रोडब्यान्ड तथा थ्रीजी र फोरजी इन्टरनेट पुगेको छ । स्मार्टफोन प्रयोगकर्ता बढिरहेका छन् । नेपाल दूरसंचार प्राधिकरणको नयाँ तथ्याङ्क अनुसार देशका झन्डै ७२ प्रतिशत जनसंख्यामा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच छ । त्यस्तै, नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार नेपालमा करीब १ करोड मानिसले मोबाईल बैंकिङ र १० लाखले इन्टरनेट बैंकिङ सेवा सुचारु गरेका छन् । यस्तो अवस्थामा खल्तीले विस्तार गरेको खानेपानी बिल भुक्तानी सेवाले धेरै महत्व राख्ने देखिन्छ ।

सन् २०१७ को जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त, एक उदयमान र रुचाइएको पेमेन्ट गेटवे हो । खल्तीको मोबाईल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा टिभीको बिल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ, इ–कमर्स मार्फत किनिएको सामानको भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने जस्ता अन्य थुप्रै सेवाहरु लिन सकिन्छ । हाल खल्ती प्रयोग कर्ताहरुको संख्या १० लाखभन्दा बढि रहेको छ । खल्तीको वेबसाईट खल्ती डटकमबाट खल्ती एप डाउनलोड गर्न र उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ ।


Share It On:

Leave a Reply

Your email address will not be published. Required fields are marked *