२३ फागुन २०७६, काठमाडौं
आगामी जुलाई ५, २०२० मा संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपिटि (JLPT) को आवेदन फर्म मार्च ५ देखि खुलेको छ । साथै, उक्त परीक्षाको शुल्क अब खल्ती वालेट प्रयोग गरी अन्लाईन मार्फत नै तिर्न सकिने भएको छ । खल्तीले जापान अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुलाई भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपाल (JALTAN ) सँग सहकार्य गरी परीक्षाको शुल्क अन्लाईन बाटै तिर्न मिल्ने सुविधा ल्याएको हो ।
लेभल N1 देखि N5 सम्मका फर्म मध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सकिनेछ । परीक्षा शुल्क (ग्रान्ट अमाउन्ट) तीनहजार रुपैयाँ लाग्ने छ । जापान नेपाली युवाहरुको रोजाईमा रहेको एक आकर्षक शैक्षिक गन्तव्य हो । हरेक वर्ष उच्च शिक्षाका लागि दशौँ हजार विद्यार्थी जापान प्रस्थान गर्ने गर्छन् । उच्च शिक्षाका लागि जापान जाने सबै विद्यार्थीले जापानी भाषा परीक्षामा सामेल भई उत्तीर्ण हुनु अनिवार्य हुन्छ ।
विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्प नहुँदा परीक्षार्थीहरु JALTAN को कार्यालय भृकुटिमण्डप नै पुगेर घन्टौँ लाईन बसी शुल्क तिर्ने झन्झट गर्नु पथ्र्याे । यस समस्यालाई मध्यनजर गर्दै खल्तीले अन्लाईन भुक्तानी प्रणालीको व्यवस्था गरेको हो । अब परीक्षार्थीले अन्लाईन फर्म गरिसकेपछी शुल्क भुक्तानी गर्ने ठाउँ देख्नेछन् जहाँ आफ्नो खल्ती आइडी दाखिला गरी केहि सेकेन्ड्मै शुल्क भुक्तानी गर्न सकिनेछ ।
यसबाट परीक्षार्थीहरु लाभान्वित हुने खल्ती का निर्देशक अमित अग्रवालको बुझाइ छ । उनले भने,“हामी जापानिज भाषा शिक्षक संगठन नेपाल (JALTAN) सँग सहकार्य गरी सबै जापानीज भाषा परीक्षार्थीलाई खल्तीको सजिलो अन्लाईन भुक्तानी सेवा प्रदान गर्न पाउँदा खुशी छौँ । अब परीक्षार्थीहरुले फर्म भरीसकेपछि आफ्नो खल्ती आईडी दाखिला गरेर सजिलै परीक्षा शुल्क तिर्न सक्नुहुन्छ । साथै, खल्ती प्रयोग नगर्ने व्यक्तिहरुले आफ्नो नजिकैको खल्ती पसलबाट उक्त शुल्क तिर्न सक्नु हुन्छ ।”
जापानी भाषाको परीक्षा JLPT को आवेदनफर्म jlpt.org.np मार्फत भर्न सकिनेछ । साथै, फर्म भर्ने तरिका, ख्याल गर्नुपर्ने विवरणहरु र शुल्कतिर्ने सम्पूर्ण तरिकाहरु उक्त वेबसाईटमै प्राप्त गर्न सकिनेछ।