भोटेकोशी बाढी प्रभावितका लागि आइएमई ग्रुपद्वारा १० करोड सहयोग
१४ भदौ, काठमाडौं।
आइएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित नागरिकहरूको खोजी, उद्धार, तत्काल राहत तथा पुनस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँबराबरको सहयोग प्रदान गर्ने भएको छ।
यो सहयोग आइएमई ग्रुप तथा ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू— ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई लाइफ इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, चन्द्रागिरि हिल्स, डिसहोम, आइएमई मोटर्स एन्ड साझेदार कम्पनी अशोक लेलैन्ड, आइएमई खल्ती, स्विफ्ट टेक्नोलोजी, मिदास हेल्थ, माइमार्ट, लुम्बिनी केबलकार, आइएमई फाउन्डेसनलगायत अन्य कम्पनीमार्फत उपलब्ध हुनेछ।
त्यसैगरी, आइएमई ग्रुप अन्तर्गतका कम्पनीहरूमा कार्यरत कर्मचारीहरूको तर्फबाट समेत १ दिनको तलबबराबरको रकम उपलब्ध गराउने ग्रुपले जनाएको छ।
यसैगरी, आइएमईले संसारभरबाट सहयोग रकम नेपाल पठाउन निःशुल्क रेमिटेन्स सुविधा उपलब्ध गराएको छ भने खल्ती ह्वाइट आइएमई मोबाइल वालेटमार्फत समेत सरकारको कोषमा सीधै रकम निःशुल्क जम्मा गर्न सकिने व्यवस्था मिलाएको छ। साथै, आइएमई फाउन्डेसनको समन्वयमा थप राहत तथा जिन्सी सहयोग उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।
आइएमई ग्रुपले अकल्पनीय विपद्मा बेपत्ताहरूको खोजी, घाइतेहरूको उपचार, प्रभावितहरूका लागि खाद्यान्न र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग उपलब्ध गराउन लागेको जनाएको छ।
साथै, विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै यस संवेदनशील समयमा उद्धार, राहत तथा पुनस्थापना कार्यमा अहोरात्र खटिनु भएका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायहरूप्रति हार्दिक कृतज्ञतासमेत व्यक्त गरेको छ।
यसअघि पनि देशका विभिन्न भूभागमा आएका भीषण बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता विपद्का समयमा आइएमई ग्रुपले अग्रपङ्क्तिमा रहेर आर्थिक, भौतिक तथा मानवीय सहायता निरन्तर उपलब्ध गराउँदै आएको छ।
For More: IME Group Flood Support

