२५ फागुन २०७६, काठमाडौं ।
नारी बिना घरबार चल्दैन ।
नारी बिना चुलो बल्दैन ।
नारी बिना सृष्टि चल्दैन ।
सक्छौ नारीलाई ईज्जत देउ ।
सक्दैनौ नारीलाई अपमान नगरिदेउ ।
मार्च ८ तारिख अर्थात अन्तर्राष्ट्रिय महिला दिवस, “समानताको पुस्ता: अन्त्य गरौं, हिंसा, विभेद, र असमानता” भन्ने नाराका साथ मनाइन्छ । बर्सेनि नारी दिवस मनाउनुको औचित्य महिलाहरूको हक, अधिकार र सम्मानको मात्र कुरा होइन । एउटा घरमा, एउटा समाजमा वा एउटा राष्ट्रमा मात्र नभएर पूरा विश्वलाई नै तुलना गरौं त महिला बिनाको संसार कति निरस होला ? त्यसैले महिलाको प्रगति भनेको त्यो घरको, त्यो समाजको, त्यो राष्ट्रको र पूरै विश्वको प्रगति हो । परापूर्व कालदेखि चलिआएका सम्मानका शब्दहरू आधा आकाश, नारीशक्ति आदिले आजसम्म पनि उति नै महत्व राखेका छन् ।
त्यसैले नारी दिवसको अभियान र उत्सव कुनै नारी वर्ग विशेष प्रति मात्र लक्षित नभएर प्रगति पथको एउटा अभियान हो । अस्तित्वले दिएको स्वभाव र अधिकार कसैले खोसेर खोसिँदैन । प्रेम, करुणा, सम्मान, परोपकार, समाजसेवाजस्ता अमूल्य कामहरूमा महिलाले हक खोजिरहनु पर्दैन । यी गुण उनीहरूलाई पहिलेदेखि नै अस्तित्वले प्रदान गरेको छ । राजनीतिमा हक, शिक्षामा हक, स्वतन्त्र भएर बाँच्न पाउने हक, अहिले त यस्ता कुरामा धेरै प्रगति भैसकेको छ ।
नेपालको संविधानले महिलालाई लैङ्गिक भेदभावबिना समान हक लगायतका अधिकार निश्चित गरेपनि पूर्ण कार्यान्वयन भने हुन सकिरहेको छैन । तर कुनै पनि क्षेत्रमा महिलाले आफ्नो सक्षमता प्रस्तुत गर्न सक्ने हो भने ढोका खुल्ला छ र अवसर पनि त्यत्तिकै छन् । अब महिलाले आरक्षणमा मात्र सीमित नभएर प्रत्यक्ष सहभागिता जनाउँदै आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुपर्दछ । अब समान हकका लागि महिला आफैं अघि बड्नु पर्दछ ताकि महिला भएकै कारणले कसैले हेप्न नसकून् र आफ्नो हक अधिकारका लागि प्रतिकारमा उत्रनु नपरोस् ।
भन्ने गरिन्छ “महिला र पुरुष” बराबर तर जति नै कानुन बनेर, संविधानमा अंकित भए पनि रुढिवादी परम्परा समाप्त नहुँदासम्म नारीका रूपमा गरिने विभेदको अन्त्य हुँदैन । नारी दिवस मनाउँदैमा वा विभिन्न प्रतिबद्धता जनाउँदैमा मानिसको सोचमा परिवर्तन आउँदैन । त्यसका लागि प्रेमपूर्ण घर एवं समाज निर्माण गर्नु पहिलो आवश्यकता हो किनभने प्रेममा विभेद हुँदैन । ओशो भन्नुहुन्छ– “‘जीवन नै प्रेम हो भन्ने जान्नेले विभेदको स्वभाव अपनाउन सक्दैन । जीवनका हरेक आयामलाई प्रेमपूर्ण र होशपूर्ण हेर्न जान्नेले जीवन विभेदमा होइन प्रेमपूर्ण भएर जिउन सक्छ । जीवनका सम्पूर्ण आयामहरूमा होश, जागरुकता र सजगता कायम राख्न सक्ने हो भने महिला र पुरुष भन्ने भिन्नता नै आउँदैन । घर, समाज, राष्ट्र र विश्व नै प्रेमपूर्ण हुन सकेको भए विभेद भन्ने कुराको अस्तित्व नै हुने थिएन ।”
कुनै पनि कुरामा प्रगति हासिल गर्न सशक्त हुनुपर्दछ । व्यक्तिगत रूपमा शारीरिक, मानसिक, बौद्धिक एवं आध्यात्मिक रूपमा सशक्त हुनु जरुरी छ । महिलाहरू जबसम्म शारीरिक रूपमा स्वस्थ हुँदैनन्, तबसम्म मानसिक रूपमा शान्त र प्रसन्न हुँदैनन् अनि के सही के गलत छुट्टयाउन सक्दैनन् त्यस्तै आफ्नो स्वभाव पहिचान तबसम्म समानता र अधिकारले कुनै अर्थ राख्दैन । त्यसैले व्यक्तिगत रूपमा सशक्त हुनु पहिलो प्राथमिकता हो ।
जब महिलाहरू आफू शिक्षित, स्वस्थ, आनन्दित र प्रेमपूर्ण हुन्छन्, तबमात्र उनीहरूका सन्तानले सही शिक्षा र उचित मार्ग पाउँछन् । आत्मविश्वास, आत्मनिर्भरता, सहनशीलता जस्ता गुणहरु, घर, समाजको सहयोगले महिलाको प्रगतिका लागि धेरै महत्वपूर्ण भुमिका निर्वाह गर्दछ ।
हाम्रो समाजमा पुरुष र महिलालाई हेर्ने भेदभाव पूर्णरूपमा हटिसकेको छैन र पनि आज शिक्षा, स्वास्थ्य, नोकरी अथवा सबै क्षेत्रको सहभागिता धेरै सुधार आएको छ । आफ्नो अनुकूल बनाएर प्रगतिमै ध्यान दिने र सोचलाई सकारात्मक बनाउने प्रयास गर्नुपर्छ । सकारात्मक सोच नै महिलाहरूको प्रगतिको आधार बन्नसक्छ ।